६० किलो सुन तस्करी प्रकरण

पक्राउ पर्नेको संख्या २०, दास्रो चरणको अनुसन्धान पूरा

काठमाडौं । गत साउनमा भित्रिएको ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले एक चिनियाँ नागरिकलाई ६ किलो सुनसहित पक्राउ गरेको छ । सीआईबीले चिनियाँ नागरिकलाई ६ किलो सुन र ४८ लाख नगदसहित कपनबाट पक्राउ गरेको हो । कपनमा फ्ल्याट लिएर बसेका शेरब ग्याल्मो भन्ने सोनाम गुरुङ दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । उनी यसअघि भएको अनुसन्धानकै फरार सूचीमा थिए । उनले आफू चिनियाँ नागरिक रहेको भनेर प्रहरीलाई बताएका छन्। उनको कोठामा तलासी लिँदा प्रहरीले ६ किलो सुन र ४८ लाख नगद बरामद गरेको थियो।
६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले दोस्रो चरणको अनुसन्धानका क्रममा भारतबाट उनीहरुलाई पक्राउ गरेको हो । दोस्रो चरणको अनुसन्धानका क्रममा प्रहरीले हालसम्म २० जनालाई पक्राउ गरेको छ ।
सीआईबीले उनीहरूको सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुलीसँग कनेक्सन देखिएको दाबी गरेको छ । हङकङबाट ब्रेक सुमा भएको सुन तस्करीको ब्युरोले अनुसन्धान गर्दै आएको छ । गतवर्ष साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गर्दा राजश्व अनुसन्धान विभागले ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । पछि उक्त सुन तस्करीको अनुसन्धान सीआईबीले गरेको हो । दास्रो चरणको अनुसन्धान लगभग अब पूरा भएको सीआईबीले जनाएको छ ।
कपनबाट बरामद भएको सुन १ किलो लेखिएको ६ थान रहेको छ । उक्त सुन ६० किलो र विद्युतीय चुरोट (भेप)मार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ । सीआईबीले अहिले भेपमार्फत तस्करी भएको ९ किलो सुन र राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेको छ । सो क्रममा अहिलेसम्म पक्राउ पर्नेको संख्या २० पुगेको छ ।तस्करीको सुनको कारोबार सजिलो नेपाल र पेवल मोबाइल भुक्तानीमार्फत भएको आरोपमा ७ जना पक्राउ परेका छन् भने सुन तस्करीकै संलग्न भएको आरोपमा १३ जना पक्राउ परेका छन् । बाँकी ११ जना सीआईबीको हिरासतमा छन् । पक्राउ पर्नेहरुमा भारत महाराष्ट्रका सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारतकै धिरज दिनेश वैटे, भारत महाराष्ट्रका प्रशान्त गणेश वजवलकार छन् । सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री, बैजनाथ व्रह्मदत्त गोयल, राजु थापा भन्ने प्रेमनाथ सेढाईं, थर्कमान भनिने कान्छा लामा, राजु र टासी भोटे भनेर चिनिने कंगा चासी सीआईबीको हिरासतमा छन् ।पेवेल प्रालिका अध्यक्ष भीमप्रसाद तिम्सिना, सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य, सुरज शमशेर जबरा, सजिलो पेका फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, सुशील जाकि बन्जा, कश्यप मानन्धर, लालबहादुर कुँवर र अरुण कुमार यादव सीआईबीको हिरासतमा छन् ।
चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरुपमा भित्र्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको अवस्थामा राजश्व अनुसन्धान विभागले २०८० साउन २ मा सुन बरामद गरेको थियो ।अनुसन्धानका क्रममा टोखामा सुन पगाल्ने कारखानासमेत फेला परेको थियो । त्यहाँबाट चार वटा सुन गाल्ने मेसिन बरामद भएको थियो ।साउन १३ मा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ समातिए, जो तस्करीको सुन व्यवस्थापनमा संलग्न रहेको प्रहरीको दाबी छ ।
अनुसन्धानपछि सीआईबीले भदौ २७ मा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो । जसमा ६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गर्दै २० जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये ठमेलको भियना होटलकी सञ्चालक तथा दावाकी श्रीमती अमला रोका, अछामका जीवन चलाउने र बाराका भोला साह सोनारलाई फरार प्रतिवादी बनाइएको थियो । पक्राउ परेका २६ जनामध्ये रुक्मणी सुब्बा मात्रै ५ लाख धरौटीमा छुटेकी थिइन् ।एलेक्स भनिने याओ पुचेङ, लि वेन टिसुङ, लि नेन्काई, सुटेन भनिने डिङ सेङ्फा, लिन चछ्याङ, टासी भनिने थुप्तेन छिरिङ, दावा छिरिङ, याङ वेन, मी टीएन गरी चिनियाँसहित १६ नेपाली पुर्पक्षका लागि अहिले पनि कारागारमै छन् ।
प्रहरीले शेरब ग्याल्मोको कोठाबाट सोनाम गुरूङ नाममा रहेको नेपाली नागरिकता समेत बरामद गरेको छ।
All reactions:

1

Comments are closed.