काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यस वर्ष जनवरी–नोभेम्बर २०२५ (११ महिनामा) ७८ लाख १७ हजार ३ सय ४९ यात्रुले सेवा लिएका छन् । यीमध्ये अन्तर्राष्ट्रिय उडानमा ४० लाख ९८ हजार ५ सय ४९ र आन्तरिक उडानमा ३७ लाख १८ हजार ८ सय यात्रुले सेवा लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ ।
प्राधिकरणका अनुसार, काठमाडौं विमानस्थलबाट विदेश जाने यात्रु संख्या २० लाख ९४ हजार ८ सय ७७ र विदेशबाट नेपाल आउने यात्रु २० लाख ३ हजार ६ सय ७२ रहेको छ ।
आन्तरिक उडानमा, काठमाडौं छाडेका यात्रु संख्या १९ लाख ३६ हजार ४ सय २६ र अन्य आन्तरिक विमानस्थलबाट काठमाडौं आएका यात्रु १७ लाख ८२ हजार ३ सय ७४ रहेको छ ।
नोभेम्बरसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय उडानका जहाज १४ हजार १ सय २५ पटक अवतरण र १४ हजार १ सय २६ पटक उडान भरेका छन् । आन्तरिक उडानमा ४२ हजार २ सय ६४ पटक अवतरण र ४२ हजार २ सय ७८ पटक उडान भइसकेको प्राधिकरणले जनाएको छ ।
कार्गो ओसारपसारमा, अन्तर्राष्ट्रिय उडानमार्फत २ करोड २५ लाख १० हजार २ सय २ किलो सामान, र आन्तरिक उडानमार्फत ३० लाख ३० हजार ८ सय ८ किलो सामान ओसारपसार भएको छ । त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय व्यापारको मुख्य हवाई बिन्दुमध्ये एक हो ।
त्रिभुवन विमानस्थलमा यात्रु संख्या
अन्तर्राष्ट्रिय: ४०,९८,५४९, आगमन: २०,०३,६७२, प्रस्थान: २०,९४,८७७, आन्तरिक: ३७,१८,८००, आगमन: १७,८२,३७४, प्रस्थान: १९,३६,४२६, सन् २०२४ मा त्रिभुवन विमानस्थलले रेकर्ड संख्यामा ९४,२३,७२५ यात्रु व्यवस्थापन गरेको थियो भने सन् २०२३ मा ८६,५४,००० यात्रु व्यवस्थापन गरिएको थियो ।
प्राधिकरणका अनुसार, विमानस्थलको क्षमता वार्षिक ८० लाख हाराहारी छ, तर हाल यसले क्षमताभन्दा बढी यात्रु व्यवस्थापन गरिरहेको छ ।यात्रु चाप काठमाडौंमा केन्द्रित हुँदा अन्य दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको चाप कम छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: ११ महिनामा १३,४३२ अन्तर्राष्ट्रिय यात्रु (प्रस्थान: ७,१७७, आगमन: ६,३२५), आन्तरिक यात्रु आगमन ३,४१,४६३ र प्रस्थान ३,३३,८७१ ।
पोखरा विमानस्थल: ११ महिनामा कुल ७,९८,७९१ यात्रु, आगमन ३,८३,७५७ र प्रस्थान ४,१५,०३४ ।






