काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विदेशी कम्पनीसँगको सम्झौता पुनः नवीकरण गर्ने तयारीप्रति कडा आपत्ति जनाएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सम्झौताले राष्ट्रियता, गोपनीयता र जनहित सबैमा आघात पुर्याउँछ भन्दै अन्तरिम सरकारलाई गम्भीर चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अमेरिका–बंगलादेश संयुक्त कम्पनी ‘डेकाटोर’सँगको म्याद सकिएको सम्झौतामा फेरि म्याद थप्ने तयारी भएको समाचारप्रति रावलले गम्भीर ध्यानाकर्षण भएको बताए।
रावलले भने, ‘म्याद सकिँदा फेरि सम्झौता थप्ने निर्णय गरियो भने त्यो नेपालको राष्ट्रियता र नेपाली जनतामाथिको घात हुनेछ।’
रावलका अनुसार इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने सूचना प्रणाली र उपकरणमार्फत नेपालीहरुको व्यक्तिगत डेटा विदेशी कम्पनीले नियन्त्रण गर्ने सम्भावना रहन्छ, जुन राष्ट्रिय सुरक्षाका दृष्टिले समेत जोखिमपूर्ण छ।
नेपाली भाषा र देवनागरी लिपिलाई सरकारी कामकाजको भाषा बनाएको संविधान विपरीत इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर प्रयोग गरिएको प्रति रावलले कडा आपत्ति जनाए।
रावलले इम्बोस्ड नम्बर प्लेटलाई ‘महँगो र अन्यायपूर्ण शुल्क असुली गर्ने संयन्त्र’ को रूपमा चित्रित गर्दै जनतालाई आर्थिक रूपमा ठगिएको आरोप लगाए।
विगतमा समेत यो सम्झौता संसद, सडक र सरोकारवाला सबैतर्फबाट व्यापक विरोध झेलेको रावलले स्मरण गराए। जनविरोधी, असंवैधानिक र राष्ट्रिय हितविपरीतका निर्णयलाई निरन्तरता दिनु स्वीकार्य हुन नसक्ने उनले बताए ।
सम्झौता नवीकरणको सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै डा. रावलले अन्तरिम सरकारलाई यो प्रक्रिया रोक्न आग्रह गर्दै भने— ‘जनताको आवाज, राष्ट्रिय हित र गोपनीयताको सुरक्षा नै पहिलो प्राथमिकता हुनुपर्छ।’








Discussion about this post