काठमाडौं –– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आइतबार बिहान सात बुँदे ऐतिहासिक सहमति भएको छ ।तर उक्त सहमतिमा केही दिनअघि वार्तास्थलको गेटमा चुकुल लगाएर दबाब दिने ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङ भने बाइपास भएका छन् ।
केही दिनअघि कुपण्डोलस्थित कुमार बेनको घरमा रवि र बालेनबीच वार्ता चलिरहेका बेला सुदन गुरुङले सहमति नजुट्दासम्म गेट नखोल्ने भन्दै ताला लगाएका थिए ।तर आइतबार बिहान करिब ४ बजे सहमति हुँदा उनी वार्तास्थलमै उपस्थित थिएनन् । ऐतिहासिक सहमतिमा जेनजी आन्दोलनका अगुवा मानिने गुरुङलाई बाइपास गरिएको छ।
सहमतिमा गुरुङको नाम, भूमिकाबारे केहि पनि उल्लेख गरिएको छैन भने बन्द कोठाको तस्बिरमा रहेका १३ जनाभित्र पनि उनी देखिएका छैनन् । जेनजीको तर्फबाट केपी खनाल उपस्थित थिए भने कलाकार निश्चल बस्नेतसमेत सहभागी भएको बताइएको छ ।
रवि–बालेन सम्झौताका यी हुन् साक्षी
तर वार्ताका बेला बाहिर ताला लगाएर दबाब दिने सुदन गुरुङ भने सो अवसरमा देखिएनन् । सहमतिअनुसार दुई पक्षबीच एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ र पार्टी सभापतिमा रवि लामिछाने नै रहनेछन्।साथै आगामी प्रतिनिधिसभा निर्वाचनपछि भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सार्ने समझदारी भएको छ ।रवि–बालेन सहमतिमा सुदन गुरुङ किन अनुपस्थिति रहे त्यो विषयमा कसैको प्रतिक्रिया आएको छैन । सुदनले पनि अहिलेसम्म रवि–बालेनको सहमतिमा केही बोलेका छैनन् ।





