कर्णालीका आमाहरूको कथा व्यथा !‘शून्यको मूल्य’

डाक्टर नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ अर्थात् सास, साहस र स्नेहको कथा नामक सिर्जनशील गैरआख्यान पुस्तक बजारमा आएको छ । शनिबार वीरेन्द्रनगरको शुभ होटेलमा एक कार्यक्रमकाबीच पुस्तक सार्वजनिक कार्यक्रममा सहभागीहरूले पुस्तकले कर्णालीको वास्तविकता बोलेको भन्दै प्रशंसा गरे ।विशेषतः कर्णालीका महिलाहरूले भोग्नुपरेको वास्तविक चित्रलाई पुस्तकमा चित्रण गरिएको छ ।

कर्णालीमा समाजसेवा गर्दै आएका डा.केसी दुर्गम ठाउँमा पुगेर काम गर्दै गर्दा त्यहाँका आमाको सास, साहस र स्नेहका कथा देखेको र तीनै कथाहरूको संगालो ‘शून्यको मूल्य’ बनेको बताउँछन् । उनले कर्णालीका मान्छेहरूको कथा यस्तो रहेछ भन्ने कुरा दुनियाँसम्म पुगोस् भन्ने उद्देश्यसहित कथाहरू कृतिमा समावेश गरिएको बताए । ‘कर्णाली आफैंमा विश्वविद्यालय हो,’ डा.केसी भन्छन्, ‘यहाँको जीवन संघर्ष र सिकाई नै सबैभन्दा ठूलो डिग्री हो ।’

पुस्तक सार्वजनिक कार्यक्रममा सहभागी लेखक तथा अभियन्ता राधा पौडेलले ‘शून्यको मूल्य’ ले अन्धकार समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देश प्रवाह गरेको बताइन् ।  ‘यो पुस्तक देशका प्रधानमन्त्रीदेखि मन्त्रीहरूको हातमा हुनुपर्छ, राज्यका प्रमुख निकायमा रहेका व्यक्ति, राजनीतिज्ञहरूले पढ्नुपर्छ,’ उनले भनिन्,‘ त्यसपछि उहाँहरूले थाह पाउनुहुने छ, कर्णालीको वास्तविकता, यो पुस्तक आफैंमा एउटा अभियान हो, कर्णालीमा गरिबी छ, यहाँमा मान्छेहरू उपचार गर्ने पैसा नपाएर ज्यान गुमाउँछन् भन्ने मात्र छैन, त्यसबाट मुक्तिको साहस गर्न पनि माहिर छन् भन्ने सिकाएको छ ।’

पुस्तक सार्वजनिक कार्यक्रममा लेखक म्यागी डोयन, अन्बिका गिरी, महेश नेपाली लगायतका लेखक तथा साहित्यकारहरूले पुस्तकमाथि चर्चा परिचर्चा गरेका थिए ।

Comments are closed.