काठमाडौँ – यस वर्षको सशस्त्र प्रहरीको ‘वर्ष जवान’ कविराज क्षेत्रीलाई घोषणा गरिएको छ । २५ औँ सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सवको अवसरमा उनलाई वर्ष जवान घोषणा गरिएको हो । सशस्त्र प्रहरी सहायक हवल्दार क्षेत्रीलाई शुक्रबार हलचोकस्थित सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा आइजी राजु अर्यालले १० हजार नगद सहित सम्मान गरेका छन् ।
क्षेत्री उद्धारकर्ता हुन् । वर्ष जवान घोषित क्षेत्रीले शान्ति मिसनमा जाने अवसर पाउनेछन् । त्यस्तै, उनका एक जना सन्ततिलाई १२ कक्षा अध्ययन गरुन्जेल १० हजारको दरले शैक्षिक वृत्ति प्रदान गरिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
सशस्त्र प्रहरी दिवसमा केन्द्रीय निरीक्षणको क्रममा उत्कृष्ट सशस्त्रका युनिटहरूलाई कमेन्डेशन अवार्ड प्रदान गरिएको छ । यस वर्ष नम्बर–५ विन्ध्यवासिनी बाहिनी, रुपन्देही उत्कृष्ट बाहिनी घोषित भएको छ । बाहिनीका प्रमुख (डीआईजी) दिपेन्द्र कुँवरलाई शुक्रवार साँझ राष्ट्रपतिले पुरस्कृत गर्नेछन् ।
शुक्रबार बिहान सशस्त्र प्रहरीका महानिरीक्षक अर्यालले बाहिनीका सुबेदार मेजर सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक राम नरेश अहिरलाई पुरस्कृत गरे । मुद्दती तथा सेवा गुल्मतर्फ महोत्तरी उत्कृष्ट भएको छ । गुल्मपति प्राविधिक सशस्त्र प्रहरी निरीक्षक रामेश्वर कुइँकेललाई आइजी अर्यालले कमेन्डेशन अवार्ड प्रदान गरे ।
गुल्महरू मध्येमा उत्कृष्ट बन्न सफल नम्बर–१९ गुल्म नुवाकोटका गुल्मपति डीएसपी गंगा केसी र सुबेदार मेजर (सई) सजन कुमार श्रेष्ठलाई कमेन्डेशन अवार्ड प्रदान गरिएको छ ।
उत्कृष्ट गण बनेको बारास्थित नम्बर–१२ गण हेडक्वार्टरका एसपी खुमबहादुर केसी र वरिष्ठ सई मीनबहादुर रानालाई पुरस्कृत गरिएको छ । तालिम शिक्षालयतर्फ विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार उत्कृष्ट भएको छ । सो तालिम शिक्षालयका समादेशक एसएसपी भरत खनियाँलाई महानिरीक्षक अर्यालले पुरस्कृत गरेका छन् ।






