ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा घरहरू भासिएपछि

काठमाडौँ । ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा घर भासिएपछि स्थानीय मारमा परेका छन् ।

गएराति सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग समेत गरेका हुन् । नक्सा पास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरूको घर समेत भासिन पुगेको स्थानीयको भनाई छ । उनीहरूले आफूहरूको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन् ।

सो निर्माणाधीन अपार्टमेन्ट वरपरका एक तला जति घरहरू भासिएका छन् । डेरा गरेर बस्नेहरू सबै भागेको र आफूहरू पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन् । अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दाबी छ । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरूलाई घरबार विहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

यसैबिच, ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरूले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन् । शनिबार बिहान सो भासिएको घरहरूको निरीक्षण गरेपछि उनले  स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरिन् । सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिराबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । उनले स्थानीयलाई भासिएको घरमा नबस्न र सुरक्षित ठाउँमा सर्न पनि आग्रह गरिन् । त्यसका लागि आफूले पनि सकेको सहयोग गर्ने उनको भनाई छ ।

अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरू भासिएपछि भाग दौड गर्ने क्रममा कतिपय घाइते समेत भएका छन् । उनीहरूको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताइन् । सडक समेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावग्रस्त छन् । उनीहरूले आफूहरूको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले आफूहरूको पीडाको सुनुवाइ नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । स्थानीयले दबाब दिएपछि सो अपार्टमेन्टको निर्माण कार्य पनि रोकिएको छ ।

Comments are closed.