मस्को : रूसले गहुँलाई हतियारको रूपमा प्रयोग गर्न लागेको छ। उक्रेनसँगको युद्धका क्रममा रूसले यस्तो कदम चालेको हो।
रूसको यो कामबाट विश्वमा ठूलो समस्या आउनेछ। रूस विश्वमा सर्वाधिक गहुँ निर्यात गर्ने देश हो। रूस-उक्रेन युद्धले पहिले नै विश्वव्यापी खाद्य आपूर्तिमा बाधा पुर्याएको छ।
तोप, ट्याङ्क, क्षेप्यास्त्र, लडाकु विमान, पनडुब्बी, युद्धपोत मात्रै शत्रुमाथि प्रयोग गरिने हतियार होइनन्। अब खाद्यान्न पनि यसको औजार बन्दै छ।
रूस र उक्रेन युद्धकै कारण गत वर्षदेखि खाद्यान्नको मूल्य निकै बढेको छ। रूसले गहुँ निर्यातमा सरकारी नियन्त्रण बढाउँदै छ। उसले सरकारी कम्पनी वा स्वदेशी कम्पनीलाई मात्रै गहुँ निर्यात गर्न दिने भएको छ। यसो हुँदा गहुँ निर्यातलाई सरकारले आफ्नो पकडमा राखी हतियारको रूपमा प्रयोग गर्न सकियोस्।
यसैबीच दुईवटा विशाल अन्तरराष्ट्रिय निर्यातक कम्पनीलाई रूसमा गहुँ खरिद गर्न बन्द गरिएको छ। त्यसपछि विश्वव्यापी खाद्य आपूर्तिमा रूसको नियन्त्रण अझ बलियो हुनेछ।
उक्त आदेशसँगै कारगिल इंक र भिटेराले रूसबाट गहुँ निर्यात बन्द गर्ने घोषणा गरेका छन्। गत मौसममा यी दुई कम्पनीले रूसको कुल खाद्यान्न निर्यातको १४ प्रतिशत कारोबार गरेका थिए।
तिनीहरूको बहिर्गमनसँगै विश्वको सबैभन्दा ठूलो गहुँ निर्यातक रूसको विश्वव्यापी खाद्यान्न आपूर्तिमा पकड अझ बलियो हुनेछ। यसका साथै आर्कर-डेनियल मिडल्याण्ड कम्पनीले पनि रूसमा आफ्नो व्यवसाय बन्द गर्ने विचार गरिरहेको छ। लुइस ड्रेफसले पनि रूसमा आफ्नो व्यापार घटाउने जानकारी दिएको छ।
यतिखेर गहुँको नयाँ सिजन शुरु भएको छ। मे १५ देखि रूसले नयाँ गहुँ निर्यात शुरु गर्नेछ। अन्तरराष्ट्रिय निर्यात कम्पनी फिर्ता भएपछि गहुँ निर्यातमा सरकार र स्वदेशी कम्पनीहरूको प्रभुत्व हुनेछ।
यो अवस्थामा रूसले भूराजनीतिक वर्चस्वका लागि कडा रूपमा प्रस्तुत हुनेछ। रूस एक्लै गहुँको मूल्य प्रभाव पार्ने स्थितिमा हुनेछ। खाडी मुलुक र अफ्रिकी देशहरू रूसी गहुँका प्रमुख खरिदकर्ता हुन्।
रूसले नयाँ गहुँ निर्यातका लागि सरकार र सरकारबीच सम्झौता हुनुपर्नेमा जोड दिइरहेको छ। सरकारी कम्पनी ओजकले पहिले नै तुर्कियेसँग गहुँ बिक्रीका लागि सम्झौता गरिसकेको छ। ओजकले गत वर्ष बीचमा अन्तरराष्ट्रिय व्यापारीबाट छुटकारा पाउन चाहेको र सीधै अर्को देशका सरकारलाई निर्यात गर्ने बताएको थियो।
गहुँलाई हतियारको रूपमा प्रयोग गर्दै रूसले आफूलाई साथ दिने देशमा मात्र निर्यात गर्नेछ। यसले खाद्यान्न आपूर्ति शृङ्खला प्रभावित बनाउनुका साथै गत वर्ष जस्तै अन्तरराष्ट्रिय बजारमा गहुँको मूल्य पनि ह्वात्तै बढ्नेछ।
रूस-उक्रेन युद्धका कारण गत वर्ष विश्वभर गहुँ र पीठोको मूल्यमा निकै वृद्धि भएको थियो। यसकै कारण धेरै देश खाद्य संकटका सामु पुगेका छन् भने कैयौँ ठाउँमा खाद्यान्नको महँगी चरम सीमामा पुगेको छ।
गत वर्ष गहुँ र पीठोको मूल्य ह्वात्तै बढेपछि भारत सरकारले पनि गहुँ निकासीमा रोक लगाएको थियो। आफ्नो खाद्यान्न आवश्यकता लागि आयातमा धेरै निर्भर देशहरू नराम्ररी प्रभावित हुन सक्छन्। विश्वमा गहुँ र पीठोको भाउ तीव्र गतिमा बढ्ने त्रास बढेको छ।
खाद्यान्नलाई हतियारको रूपमा प्रयोग गर्नु संसारका लागि राम्रो संकेत होइन। खडेरी, प्राकृतिक प्रकोप जस्ता कारणले विश्वभर खाद्यान्न उत्पादनमा कमी आएका वेला सन् २००७ मा पहिलोपटक खाद्य युद्ध देखिएको थियो। त्यसपछि रूस, अर्जेन्टिना जस्ता महत्त्वपूर्ण खाद्यान्न निर्यातक देशले सन् २००८ मा आन्तरिक माग पूरा गर्न महिनौंसम्म खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाएका थिए।
यसले गर्दा विश्वका धेरै ठाउँमा राजनीतिक अस्थिरता र आर्थिक संकट उत्पन्न भएको थियो। संयोगवश त्यति वेला विश्वव्यापी मन्दी पनि थियो। मन्दी हुनुको प्रमुख कारण खाद्य युद्ध मानिन्छ।
Comments are closed.