साफ च्याम्पियनसिपको उद्घाटन खेल २१ जुनमा, नेपालले कुवेतको सामना गर्दै

काठमाडौँ । भारतमा आयोजना हुने १४औँ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सुरुवात नेपाल र कुवेतबीचको खेलबाट हुँदैछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ ।
तालिका अनुसार पहिलो खेलमा नेपाल र कुवेत भिड्नेछन् । नेपाल र कुवेतबीचको पहिलो खेल असार ६ (जुन २१) नेपाली समय अनुसार दिउँसो ४ बजे हुनेछ । नेपालले दोस्रो खेल असार ९ (जुन २४) मा आयोजक भारतसँग खेल्नेछ । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा उनीहरूले असार १२ (जुन २७) मा पाकिस्तानको सामना गर्नेछन्। नेपाल बुधबार समूह ‘ए’ मा रहेको छ ।
पूर्व विजेता नेपालको समूहमा भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । साफ च्याम्पियनसिप बैंग्लोरमा असार ६ (जुन २१) देखि असार १८ (जुलाई ३) सम्म हुनेछ । प्रतियोगिताको यस संस्करणमा नेपालसँगै आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । फिफाको निलम्बनका कारण श्रीलंकाले यस संस्करणमा प्रतिस्पर्धा गर्नेछैन । अर्कोतर्फ कुवेत र लेबनानलाई पनि आमन्त्रित टोली दिइनेछ ।
यसअघि साफको १४ औं संस्करण बंगलादेशमा आयोजना हुने भनिएको थियो । तर, बंगलादेशले प्रतियोगिता आयोजना गर्न नसकेकाले भारतमा आयोजना हुनेछ । माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । उपाधि खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो ।

Comments are closed.