काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले भारतले लिपुलेक हुँदै मानसरोवर जाने बाटो सञ्चालनमा ल्याएको विषयमा सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।मंगलबार जारी विज्ञप्तिमार्फत उनले नेपालको भूभाग लिपुलेक प्रयोग गरी भारतले गरेको सडक निर्माण र नाका सञ्चालनप्रति सरकार मौन बसेको आरोप लगाएका हुन् ।
उनले सरकारलाई प्रश्न गर्दै लेखेका छन्, ‘नेपालको भूभाग लिपुलेक हुँदै भारतले कैलाश–मानसरोवर जाने बाटो खोलिरहँदा के गरिराख्नु भएको थियो ?’ भन्दै कूटनीतिक असफलताप्रति असन्तुष्टि व्यक्त गरेका छन्।साम्पाङले सीमावर्ती क्षेत्र दार्चुलाको दुम्लिङसम्म बाटो विस्तार नहुनुलाई पनि कमजोरी भन्दै, ‘महाकाली नदी किनारै किनार भारतले बाटो बनाउँदा किन रोक्न सकिएन ?’ भन्ने प्रश्न उठाएका छन्।
उनका अनुसार यो विषयमा केवल कूटनीतिक नोट पठाएर औपचारिकता पूरा गर्नु पर्याप्त नहुने भन्दै बहुपक्षीय वार्ताको माग गरिएको छ। उनले नेपाल, भारत र चीनबीच तथा आवश्यकता अनुसार संयुक्त राष्ट्रसंघको समेत सहभागितामा वार्ता हुनुपर्ने सुझाव दिएका छन् ।त्यसैगरी उनले सीमा सुरक्षामा सेना प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने माग गर्दै, ‘सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न होइन, सीमामा खटाउनुपर्छ,’ भनेका छन्।
साम्पाङले सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग गरिएको विषयप्रति पनि आपत्ति जनाउँदै सीमामा सुरक्षा कमजोर भएको आरोप लगाएका छन् ।सुकुम्बासी बस्तीमा व्यस्त डोजरहरू रोशी खोला लगायतका देशका विभिन्न स्थानहरूमा बाढीले भत्काएको बाटो खोल्न र तत्काल विपद व्यवस्थापन गर्न पठाउनु पर्ने बताएका छन्।त्यस्तै, उनले विपद् व्यवस्थापन, सडक मर्मत र बाढी प्रभावित क्षेत्रमा राज्यको प्राथमिकता बदलिनुपर्ने भन्दै सरकारको आर्थिक नीति र ऋण व्यवस्थापनप्रति पनि प्रश्न उठाएका छन्।’राज्य चलाउन नसक्ने हो भने राजीनामा दिनुपर्छ,’ भन्दै उनले सरकारलाई जनताप्रति उत्तरदायी बन्न आग्रह गरेका छन् ।
अन्त्यमा उनले पत्रकार सम्मेलनमार्फत सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दै अन्यथा निरन्तर प्रश्न उठाइरहने चेतावनीसमेत दिएका छन्।








Discussion about this post