नवलपुर तापक्रममा नयाँ ‘रेकर्ड’ बनाउँदै

नवलपुर : मध्य नेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको तापक्रममा दिनदिनै नयाँ ‘रकर्ड बनिरहेको छ। अघिल्ला वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत शहरको तापक्रम देशकै सबैभन्दा बढी मापन हुने गरेकोमा यो वर्ष नवलपुरमा उच्च भएको हो।

जल तथा मौसम विज्ञान विभागले यो वर्षको शुरुमा वैशाख ६ गते नवलपुरको दुम्कौलीको तापक्रम देशकै सबैभन्दा बढी ४२.८ डिग्री सेल्सियस मापन गरेको थियो।

विभागका अनुसार नवलपुरको दुम्कौलीमा वैशाख १० र ११ गते ३८.८, १४ गते ३८, १५ गते ३८.८, २४ गते ३९.८, २५ गते ४१.८, २७ गते ४२.८, २८ र २९ गते ४१.८, ३१ गते ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। यो मापन गरिएको तापक्रम ती दिनमा देशकै सबैभन्दा उच्च तापक्रम हो ।

जेठ १ गते जिल्लामा ४१ डिग्री सेल्सियस रहेको तापक्रम जेठ २ मा घटेर ४० तथा जेठ १० मा अझ घटेर ३९ डिग्री सेल्सियस पुगेको भए पनि त्यस दिनमा यो तापक्रम देशकै उच्च तापक्रम हो। जेठ १० पछि उच्च तापक्रम भएका स्थानमा तराईका अन्य जिल्ला मापन गरिएको भए पनि जेठ १९ गते एकाएक नवलपुरको दुम्कौलीको तापक्रम ४३ डिग्री सेल्सियस मापन भयो। जेठ १९ पछि हालसम्म नवलपुरको अधिकतम तापक्रम देशका अन्य स्थानको भन्दा बढी मापन भइरहेको छ। जेठ २० गते ४३, २१ गते ४२.८, २२ गते ४३ .८ डिग्री सेल्सियस तापक्रम मापन भएको छ।

जेठ २२ गते नवलपुरमा त्यस वेलासम्मको सबैभन्दा बढी तापक्रम हुने आफ्नो जिल्लाको ‘रेकर्ड ब्रेक’ भएको थियो। त्यसअघि जिल्लाको अधिकतम तापक्रम सन् १९७९ मा ४३.७ डिग्री सेल्सियस मापन गरिएको थियो।

जेठ २३ मा तापक्रम घटेर ४२.८ डिग्री पुगेको भए पनि त्यस दिन यो तापक्रम देशकै उच्च तापक्रम मापन भएको विभागले जनाएको छ । जेठ २४ र २५ गते यहाँको तापक्रम ४३.८ डिग्री सेल्सियस पुगेको थियो। नवलपुरले उच्च तापक्रमको आफ्नो रेकर्ड पुनः ‘ब्रेक गर्दै’ जेठ २६ गते यहाँको तापक्रम ४४ डिग्री सेल्सियस पुग्यो । विभागले हरेक २४ घण्टामा देशभरको उच्च तापक्रम सार्वजनिक गर्दै आएको छ।

नवलपुरको तापक्रम वृद्धि भएर तराईका अन्य जिल्लालाई माथ दिइरहँदा यहाँको जनजीवन प्रभावित भएको छ। अत्यधिक गर्मीका कारण खेतबारीमा लगाएका मकै सुक्न थालेका देवचुली–१७ का कृषक देवनारायण महतोले बताए। RSS

Comments are closed.