नेपाली स्कुसले बल्ल पायो भारतमा वैधता

इलाम : नेपालमा उत्पादित स्कुस अब वैधानिकरूपमै  भारत निर्यात हुने भएको छ।  वर्षौँदेखि अवैध रूपमा निर्यात भइरहेको इस्कुसले अब भारतीय बजारमा वैधता पाएको हो।

नेपालमा उत्पादन भएको स्कुसलाई ‘प्लान्ट क्वारेन्टाइन’ सूचीमा समावेश गरिएपछि भारत निर्यात सहज हुने भएको छ।  इलाम र पूर्वका विभिन्न जिल्लामा ठूलो परिमाणमा स्कुस उत्पादन हुन्छ । तर, यसको निर्यात सहज नहुँदा किसानले सास्ती खेप्नुपरेको थियो। इलाम, पाँचथर, ताप्लेजुङलगायत जिल्लाको इस्कुस इलामका सीमावर्ती क्षेत्रबाट रातारात अवैध रूपमा निर्यात भइरहेको थियो।

पशुपतिनगर नाकाबाट सहजरूपमा भारततर्फ स्कुस लग्न समस्या हुने गरेको थियो। सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईले नगरले ४ वर्षदेखि गरेको प्रयास सफल भएको बताए। उनले सूर्योदय नगरपालिकाका किसानको मुख्य आम्दानीको स्रोत स्कुसलाई क्वारेन्टाइन लिस्टमा राखेपछि लगानीअनुसारको मूल्य पाउने विश्वास व्यक्त गरे।

उनले ‘प्लान्ट क्वारेन्टाइन रेगुलेसन एन्ड मनिटरिङ सेक्सन’ र ‘प्लान्ट क्वारेन्टाइन एन्ड पेस्टिसाइड मेनेजमेन्ट सेन्टर’सँग स्कुसलाई निर्यातजन्य वस्तुको प्लान्ट क्वारेन्टाइन सूचीमा राख्न निकै मेहनत गर्नुपरेको बताए । इलामका धेरै जसो क्षेत्रम स्कुस खेती हुने गरेको छ।  उत्पादित स्कुस सिजनको शुरुमा करिब ४० रुपैयाँ प्रतिकिलो बिक्री हुने गरे पनि मुख्य सिजनमा यसको मूल्य १० रुपैयाँसम्ममा झर्ने गरेको छ।

इलाममा इस्कुस खेतीका लागि न्यानो र ओसिलो हावापानी भएकाले खासै रोग किरा लाग्दैन। इस्कुसखेतीबाट एक किसानले दुई लाखदेखि २० लाखसम्म बार्षिक आम्दानी गर्दै आएका छन्। यसरी पूर्वी इलामको किसानले इस्कुस बेचेर महिनामा नै लाखौँ कमाउँछन् । इलाममा २८ प्रकारको इस्कुस पाइने गरेको कृषि विज्ञ बताउँछन्।

Comments are closed.