साउथ एशियन चेस च्याम्पियनसिपको उपाधि भारतका मोहम्मद नुबैरलाई

काठमाण्डौं । भारतीय ईन्टरनेशनल फिडे मास्टर मोहम्मद नुबैर शाह शेख दोश्रो साउथ एशियन चेस च्याम्पियनसिप २०२३ को उपाधि रक्षा गर्न सफल भएका छन् ।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा गोदावरीस्थित होटल भ्यु भृकुटीमा असार ३ गते आईतबार सम्पन्न च्याम्पियनसिपको नवौं चरणको खेलमा नुबैरले नेपालका फिडेमास्टर क्षितिज भण्डारीलाई पराजित गर्दै उपाधि रक्षा गरेका हुन् । उपाधिसङ्गै नुबैरले १ लाख ५० हजार नगद पुरस्कार समेत हात पारे ।

सन् २०१९ को नोभेम्बर महिनामा बंगलादेशको ढाकामा सम्पन्न च्याम्पियनसिपको पहिलो संस्करणका विजेता समेत रहेका नुबैरले आफ्नो उपाधि रक्षा गर्ने क्रममा अपराजित रहँदै ९ खेलबाट ८ दशमलब ५ अंक जोडेका थिए ।

राउण्ड रोविन प्रणालीमा सम्पन्न च्याम्पियनसिपमा नेपाल च्याम्पियन फिडेमास्टर रुपेश जयसवालसँग बराबरी खेलेका नुबैरले बाँकी सबै खेलमा जित हात हासिल गरेका थिए ।

च्याम्पियनसीपमा महिलातर्फको उपाधि पनि भारतकी वुमन ईन्टरनेशनल मास्टर साक्षी चितलागेले जितेकी छन् । महिलातर्फको उपाधि हात पार्ने क्रममा शतप्रतिशत जित हासिल गर्न सफल साक्षीले नगद १ लाख हात पारेकि छिन् ।

च्याम्पियनसिपमा सहभागि एक मात्र ग्रान्डमास्टर सायानतन दास ७ दशमलब ५ अंकका साथ दोश्रो भए । उपाधि विजेता नुबैरशाहसँग पहिलो चरणमा अंक गुमाउन पुगेका उनी नेपाली स्टार रुपेशसँग समेत बराबरीमा रोकिएका थिए ।

सायानतनले अन्य ७ खेलमा जित हासिल गर्दै ९ खेलबाट ६ अंक बटुलेका थिए । त्यसैगरी नेपाल च्याम्पियन रुपेश जयसवा तेश्रो स्थानमा रहे । दोश्रो र तेस्रो स्थान हासिल गर्ने पुरुष खेलाडीले क्रमस १ लाख र ६० हजार नगद पुरस्कार प्राप्त गरे ।

Comments are closed.