Trending Now

रोजगारदाता परिषद्का सभापति श्रेष्ठद्वारा अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई जेनेभामा संवोधन, आइएलओका सदस्य राष्ट्रहरू बीच आपसी सहकार्यमा जोड

सम्मेलनलाई संवोधन गर्ने क्रममा रोजगारदाता परिषदका सभापति श्रेष्ठले कोभिड – १९ महामारीको पीडा सम्पूर्ण विश्वलेनै भोग्नु परेको र यो महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको बताउनु भयो । 

कोभिड महामारीका कारण गएको तीन वर्षमा सामाजिक – आर्थिक गतिविधि र मानव जीवनमा गम्भीर असर पार्नुका साथै महामारिले विकास प्रक्रियालाई नै पछाडि धकेलिदिएको र आर्थिक मन्दीको झट्काको सामना विश्वले गर्नुपरेको सभापति श्रेष्ठले बताउनु भयो । 

नेपालमा, कोभिड महामारीबाट भएको नोक्सानीको छिट्टै रिकभरीको अपेक्षा गर्दै गर्दा पुनः अर्थतन्त्रमा आएका केही आन्तरिक चुनौतीका कारण आर्थिक गतिविधि सुस्त भएको र अपेक्षाकृत अर्थतन्त्र विस्तार हुन नसकेको बताउनु भयो । 

विभिन्न चुनौतीहरुका बाबजुद पनि नेपालको निजी क्षेत्र व्यापार वृद्धि, मर्यादित रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको अभिवृद्धि, साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन र व्यवसायको औपचारिकीकरण गर्न प्रतिबद्ध रहेको उहाँले विश्व मंचमा प्रतिवद्धता जनाउनु भयो । 

सभापति श्रेष्ठले परिवर्तित सन्दर्भमा सूचना प्रविधिको बढ्दो प्रयोग, कामगर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रम बजार र श्रम सम्बन्धमा पनि परिवर्तन आउने र यसबाट रोजगारी कटौती तथा नयां शीपयुक्त जनशक्तिको आवश्यकता पर्ने उल्लेख गर्नुभयो । साथै उहाँले कार्यस्थलको सुधार, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका क्षेत्रमा थप लगानी गर्नु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

परिषद्का सभापति श्रेष्ठले नेपालमा श्रम ऐन र सामाजिक सुरक्षा ऐन अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरू लागू भइरहेको जानकारी गराउनु भयो । उहाँले भन्नु भयो – नयाँ श्रम ऐनका प्रावधानहरू सबै कामदारहरूका लागि लागू हुनेछन् र यसले राम्रो कामको अवस्था सुधार गर्न, मर्यादित रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । 

बाल श्रम उन्मूलन र डिसेन्ट वर्क कन्ट्री प्रोग्राममा राष्ट्रिय गुरु योजना विकास गर्न महासंघ परामर्श प्रक्रियामा सक्रिय रूपमा संलग्न भैरहेको जानकारी गराउंदै उहाँले सबै प्रकारका बालश्रम उन्मूलनका लागि रोजगारदाता संगठनले सबै सरोकारवालाहरूसँग नजिकबाट काम गरिरहेको पनि सो अवसरमा वताउनु भयो ।

सभापति श्रेष्ठले नीतिगत सुधार, सीप विकास, पेशागत सुरक्षामा महासंघको मुख्य जोड रहेको र सोही अनुसार कार्यक्रम पनि भैरहेको जानकारी गराउनु भयो ।

सभापति श्रेष्ठले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सबै तहमा सामाजिक संवादको संयन्त्रको सवलीकरण गर्ने काम गरिरहेको र रोजगारदाता संस्थाले तय गरेका रणनीति तथा कार्यक्रमहरू रोजगारी सिर्जना, आर्थिक वृद्धि र व्यसायको दीगोपनमा केन्द्रीत रहेको उल्लेख गर्नुभयो । 

१७६ भन्दा वढी मुलुकका सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ सम्मेलन जून ५ देखि शुरु भएको थियो भने सम्मेलन जुन १६ सम्म चल्ने छ । 

सम्मेलनमा महासंघको रोजगारदाता परिषद्का सभापति श्रेष्ठको नेतृत्वमा शिक्षा, सिप विकास तथा रोजगार समितिका सभापति गोपाल खनाल, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक कुमार अग्रवाल (टेमानी), महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले भाग लिइरहनु भएको छ । 

Comments are closed.