ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखरेली व्यवसायीको माग

पोखरा । पोखराका उद्योगी व्यवसायीले ठूलो दरका भारतीय नोट प्रचलनमा ल्याउन दिनुपर्ने बताएका छन् । बजारमा सय रुपैयाँभन्दा बढीका भारतीय नोटहरू प्रचलित विनिमय दरभन्दा घटीमा कारोबार भइरहेकोले व्यवसायीलाई मर्का परेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए । ठूला भारतीय नोट नचल्दा पर्यटकहरू पनि समस्यामा छन् ।

उनले भारतीय ठूला नोटको प्रचलनको व्यवस्था गरिनुपर्ने, अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली तत्काल कार्यान्वयनमा आउनुपर्ने र व्यावसायीहरुसँग भएका भारतीय ठूला नोटको व्यवस्थापन हुनुपर्ने माग गरेका थिए । ठूला नोट नचल्दा नेपाल आउने भारतीय पर्यटकले दुःख पाएको र पर्यटकले चाहेजति खर्च गर्ने व्यवस्था गरिनुपर्ने पनि उनको सुझाव छ ।

‘नेपालमा सय रुपैयाँभन्दा ठूला भारतीय नोट चल्दैनन् । यहाँ भारतीयको एटीम, भिसा र मास्टरकार्ड पनि मुस्किलले चल्छ,’ उनले भने, ‘एउटा मान्छे पैसाको भारी बोकेर घुम्न निस्कँदैन । अब डिजिटल भुक्तानी प्रणाली कार्यान्वयनमा नगई सुख छैन ।’

नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशीले आपूर्ति बढी हुँदा बजारमा भारतीय रुपैयाँ छ्यापछ्याप्ती भएको बताइन् । ‘भारतीय पर्यटकहरूको आवागमन बढेको छ, सीमा क्षेत्रमा त क्यासिनो पनि खुलेका छन् । त्यहाँबाट भारतीय रुपैयाँ भित्रिएको छ,’ उनले भनिन्, ‘भारतबाट हुने आयात कम हुँदा माग भने कम भएको छ ।’

पोखरा उद्योग वाणिज्य संघले वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तरक्रिया गरेको हो । जोशीले भारतकै चाहना नभएका कारण नेपालमा ठूला भारतीय नोट प्रचलनमा नआएको जिकिर गरिन् । ठूला नोट प्रचलनमा ल्याउनको लागि भारतसँग कूटनीतिक पहल गरिनुपर्ने उनको धारणा थियो । अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा आउँदा भारतीय नोटको समस्या कम हुने उनले भनाई छ ।

नेपाल बैंकर्स एसोसियसन गण्डकीका अध्यक्ष सूर्य रोकाले पनि भारतकै कारण ठूला दरका भारतीय नोटको प्रयोग हुन नसकेको बताए । नेपाल हुँदै नक्कली नोटहरू भारत भित्रने आशंकासँगै भारतले यस्तो नीति लिएको उनको भनाइ छ ।

Comments are closed.