आज हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने)चतुर्मास व्रत आरम्भ

आजबाट हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने)तथा चतुर्मास व्रत आरम्भ।
आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै एक पर्वको रूपमा मनाउने गर्दछन् । पुराणहरूका मत अनुसार भगवान विष्णु यस दिन देखि चार महिनासम्म (चातुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ‘देवशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ‘प्रबोधिनी’ एकादशी भनिन्छ ।
एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चर्तुमास सकी एकैचोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।
तुलसी रोप्ने
आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् ।
तीर्थ समान तुलसीको मठ
रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।

Comments are closed.