काठमाण्डौं । श्रीलंका आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२३ मा छनौट भएको छ ।
बुलाबायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा आईतबार भएको सुपर सिक्स अन्तर्गतको खेलमा घरेलु टोली जिम्बाब्बेलाई ९ विकेटले पराजित गर्दै श्रीलंकाले विश्वकपमा स्थान पक्का गरेको हो ।
यससँगै श्रीलंका ग्लोबल छनौटमार्फत विश्वकपमा छनौट हुने पहिलो टोली बनेको छ । जिम्बाब्बे दिएको १६६ रनको लक्ष्य श्रीलंकाले ३३.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाका लागि पथुम निसंकाले १०२ बलमा १४ चौकाको सहयोगमा अविजित रहँदै १०१ रनको शतकीय पारी खेल्दा दिमुथ करुणारत्ने ५६ बलमा २ चौकाको सहयोगमा ३० र कुशल मेन्डिसले ४२ बलमा २ चौकाको सहयोगमा अविजित रहँदै २५ रन जोडे ।
बलिङ्गतर्फ जिम्बाब्बेका लागि रिचार्ड नगर्भाले १ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको जिम्बाब्बले ३२.२ ओभरमा अलआउट हुँदै १६५ रनको योगफल तयार पारेको थियो ।
जिम्बाब्बका लागि सन विलियम्सले ५७ बलमा ६ चौका र १ छक्कासहित ५६ रनको अर्धशतकीय ईनिङ्ग खेल्दा सिकन्दर राजा ५१ बलमा ३ चौका र १ छक्कासहित ३१ र रायन बर्ल १६ र क्रेग इर्विन १४ रन जोडे ।
बलिङ्गमा श्रीलंकाका स्पिनर महेश थिक्सेनाले ४, दिलशान मदुशानकाले ३, पथिसा पाथिरानाले २ तथा दाशुन शनकाले एक विकेट लिए ।
जितसँगै ८ अंक जोडेको श्रीलंका सुपर सिक्स अन्तर्गतको एक खेल अगावै विश्वकपमा छनौट भएको हो । अब जिम्बाब्बेले विश्वकपमा छनौट हुनका लागि सुपर सिक्स अन्तर्गतको अन्तिम खेलमा स्कटल्याण्डलाई पराजित गर्नुपर्ने हुन्छ ।
Comments are closed.