कालिखोलामा पहिरो, मुग्लिङ-नारायणगढ सडक दुईतर्फी बन्द

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । उनले भने, ‘पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न सकिँदैन ।’

पहिरो पन्छाउन समय लाग्ने देखिएकोले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । यसअघि पनि यो राजमार्ग पटक-पटक पहिरोका कारण अवरुद्ध भएको थियो ।

Comments are closed.