कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सकिँदै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सकिँदैछ।

गत साउन २ गतेदेखि जारी बैठक आज सकिन लागेको हो। ललितपुरस्थित केन्द्रिय कार्यालय सानेपामा बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। आजको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

विश्वकर्माका अनुसार आज पाँच बजे बैठकका निर्णय सार्वजनिक हुनेछ। त्यसअघि बैठकका निर्णयलाई अन्तिम रुप दिन पदाधिकारी बैठक बस्नेछ।

बैठक बिहान ११ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्न लागेको हो। हिजो बोलाइएको बैठक बिना निष्कर्ष सकिएपछि बैठक आज फेरि बोलाइएको हो।

एक हप्तादेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसके पछि गत सोमबारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए। जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखे।

केन्द्रीय समितिमा पेस भएको समय तालिकासहितको कार्यतालिकासँगै १० वटा प्रस्तावलाई केन्द्रीय सदस्यहरुले दिएको सुझावका आधारमा आज संशोधनसहित पारित गर्ने तयारी गरिएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन्।

कार्ययोजना पारित गर्न सबैको सहमति रहेको र सुझावलाई पनि समेट्ने विषयमा छलफल भएको उनको भनाइ छ।

Comments are closed.