भदौ १५ गते शुक्रबार बाट सुरु भएको तीन दिने ‘सूर्य नेपाल काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण आइतबार समापन भएको छ ।परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा उद्घाटन भएको महोत्सवमा दक्षिण एसियाका लेखक तथा कलाप्रेमीहरूको सहभागिता थियो । परराष्ट्रमन्त्री साउदले नेपाल सरकारको तर्फबाट र महोत्सवका तर्फबाट कलिङ साहित्यिक महोत्सवका सस्थापक निर्देशक रश्मी रञ्जन परिदा तथा काठमाडौँ -कलिङ्ग साहित्य महोत्सव काठमान्डौकि निर्देशक, संयोजक तथा यशस्वी प्रज्ञाप्रतिष्ठानकी अध्यक्ष रञ्जना निरौलाले अतिथिहरूलाई स्वागत गरेका थिए ।
नेपालको चर्या र कुमारी नृत्य प्रस्तुतिसँगै सुरु भएको महोत्सवमा ५० भन्दा बढी सेसन थिए । नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकालगायत देशका साहित्यकारहरु जमघट भएको यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ्ग लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा भएको हो। दक्षिण एसियाका करिब तीन सय लेखकहरूको सहभागिता रहेको महोत्सवमा दक्षिण एसियाली कला, साहित्य, संगीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा भएको थियो ।
महोत्सवमा भारतबाट आएका अभिनेत्री दिव्या दत्त, गायिका अभिलिप्सा पाण्डा, नृत्यक अरुणा मोहन्ती, पटकथा कार नीलधर माधव, पत्रकार सुहासिनी हैदरलगायत चर्चित व्यक्तित्वहरु मुख्य आकर्षण बनेका थिए । नेपालबाट अभिनेत्री मनिषा कोइराला, कलाकार नीर शाह, अभिनेता तथा निर्देशक खगेन्द्र लामिछाने, आख्यानकारहरु नयनराज पाण्डे, अमर न्यौपानेलगायत कलाकार तथा लेखक विभिन्न सेसनका मुख्य आकर्षण बने।
‘शक्ति र भक्ति–सभ्यतागत सम्बध, विश्वव्यापी विचारको केन्द्र नेपाल’लाई केन्द्रीय स्वर बनाइएको महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको आयोजकको भनाइ छ ।
दक्षिण एसियाली संवादको केन्द्रीय थलोको रूपमा स्थापित गर्दै महोत्सवले नेपाललाई विश्वव्यापी स्तरमै पहिचान दिने केएलएफकी संस्थापक तथा निर्देशक रश्मी रञ्जन परीडाले विश्वास व्यक्त गरिन् । सूर्य नेपाल मुख्य प्रायोजक रहेको महोत्सवलाई एलआईसी नेपाल, हिमालय डायरी प्रायोजन गरेका छन् । साहित्यिक महोत्सव भनिए पनि तीन दिनसम्म चलेका सेसनमा लैंगिकता, जलवायु परिवर्तन, कुटनीतिलगायत समसामयिक राजनीतिक मुद्दाहरुमा समेत छलफल भएका थिए । महोत्सवमा तीनै दिन कविता, गीत तथा गजलका प्रस्तुतिमा दर्जनौं सर्जकले प्रस्तुति दिए । महोत्सवको अन्तिम सेसनको प्रस्तुति महफिलमा स्रोताहरुको उल्लेखनीय सहभागिता थियो ।
Comments are closed.