इजरायलद्वारा बिपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायलले नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरूप प्रदान गरेको छ ।

इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले आज राष्ट्रपति भवन शीतलनिवासमा बिपीको सो भाषण उपहारस्वरूप हस्तान्तरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १९४८ मा राज्यका रूपमा स्थापित इजरायलसँग बिपी कोइरालाले सिङ्गो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गरेका थिए । सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा ‘इन्टरनेशलन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्स’ को प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्दै बिपी कोइरालाले गर्नुभएको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहारस्वरूप हस्तान्तरण गरेका हुन् ।

Comments are closed.