चलचित्र क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनुपर्छ: भुवन केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने बताएका छन् ।
मङ्गलवार संविधान दिवस २०८० को अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह २०८० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चलचित्र आम सञ्चारको माध्यम भएकाले समाजमा जागरण ल्याउन यसको महत्वपूर्ण भूमिका हुने बताए ।
उनले चलचित्र क्षेत्रलाई एकीकरण र व्यवस्थापन गरी नियमन गर्न बनेको विधेयकको मस्यौदामाथि पुनः छलफल पश्चात् संशोधन र परिमार्जन गरी आजै बुझाउने तयारी गरेको बताए । उनले विधेयकलाई छिटो पास गराइ कार्यान्वयनमा ल्याउनसके चलचित्र क्षेत्रका लागि ऐतिहासिक सफलता मिल्ने बताए ।
उनले भने ‘चलचित्र आम सञ्चारको माध्यम भएकाले समाजमा जागरण ल्याउन यसको महत्वपूर्ण भूमिका हुन्छ । तसर्थ चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि यो क्षेत्र मर्यादित र व्यवस्थित बनाउनुपर्छ । माननीय मन्त्रीज्यु र श्रीमान् सचिव ज्युको चासो र निर्देशन बमोजिम चलचित्र क्षेत्रलाई एकीकरण र व्यवस्थापन गरी नियमन गर्न बनेको विधेयकको मस्यौदामाथि पुनः छलफल पश्चात् संशोधन र परिमार्जन गरी बुझाउने छौँ । यसलाई सकेसम्म छिटो पास गराइ कार्यान्वयनमा ल्याउनसके चलचित्र क्षेत्रका लागि ऐतिहासिक सफलता हुनेछ ।’

संविधान दिवस २०८० को अवसरमा कलाकारिताको क्षेत्रबाट समाज र देशमा योगदान पुर्याएका कलाकारहरू मदनकृष्ण श्रेष्ठ, वसुन्धरा भुसाल, दयाराम दाहाल, रेखा थापा, दीपाश्री निरौला लगायतका कलाकारहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

Comments are closed.