काठमाडौं : अभिनेता अनमोल केसीलाई हिरासतमै राख्न ३ दिनको अनुमति पाएको छ।
काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पक्राउ परेको दिनदेखि आज (आइतबार) सम्म ३ दिनको समय दिइएको हो। प्रहरीले केसीलाई नियमानुसार भोलि पनि अदालतमा उपस्थित गराउनुपर्ने अदालतका प्रवक्ता दिपक दाहालले जानकारी दिए।
म्याद थप गर्न न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासमा आज बेलुकी बहस भएको थियो। आपराधिक विश्वासघातको आरोपमा समातिएका अभिनेता केसी आज पनि प्रहरी हिरासतमै रहनेछन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका दिनदेखि आजसम्म ३ दिन र थप ५ दिन गरी ८ दिनको म्याद सरकारी वकिलको कार्यालयमार्फत माग गरेको थियो तर अदालतले जम्मा ३ दिनको मात्रै अनुमति दिएको हो।
अदालत जानुअघि प्रहरीसँगको बयानमा केसीले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका छन्। उनले स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बयान लिएका छन्।
‘रावायण’ फिल्म खेल्न १० लाख रुपैयाँ दिएर सुटिङमा नगएपछि निर्माताले उनीविरुद्ध जाहेरी दिएको थियो। अनमोलले ‘आपराधिक विश्वासघात’ गरेका कारण करिब डेढ करोड लगानी डुबेको निर्माण युनिटको दाबी छ।
सोही आधारमा प्रहरीले छलफलमा बोलाउँदा उपस्थित नभएपछि अभिनेता केसीलाई गत शुक्रबार भक्तपुरको साँगाबाट नियन्त्रणमा लिएको थियो।
Comments are closed.