काठमाडौं । पूर्व मन्त्री शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा जानुभएका कुशवाहसहित ५४ नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको थियो । ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराई लगायतका नेताहरूले उहाँहरूलाई स्वागत गर्नुभएको थियो ।
कुशवाह गत वैशाख १० गते भएको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरी बारा–२ मा उपचुनाव लड्नु भएको थियो । उहाँ राउतमा राजनीतिक चरित्र नदेखिएको भन्दै केही समयअघि देखि स्वतन्त्र बस्नु भएको थियो ।
कुशवाह २०६४ सालमा माओवाद पार्टीबाट बारा–२ बाट संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत हुनुभएको थियो । उहाँ गएको उपनिर्वाचनमा बारा–२ बाट जसपा अध्यक्ष उपेन्द्र यादवसँग झिनो मतले पराजित हुनुभएको थियो ।
कुशवाहले एमाले कम्युनिष्ट पार्टीको मूल धार भएकोले आफू एमालेमा प्रवेश गरेको बताउनुभयो । माओवादीको सशस्त्र द्वन्द्वको समयमा माओवादीमा गएका एमालेहरूलाई माओवादीबाट एमालेमै फर्काउन अभियान चलाउनुपर्ने उहाँको भनाइ छ । उहाँले आफू पनि सशस्त्र द्वन्द्व अगाडि एमाले नै रहेको बताउँदै ३० वर्षपछि आफ्नै घर फर्किएको बताउनुभयो । एमालेलाई मधेश प्रदेशको पहिलो पार्टी बनाउने गरी लाग्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Comments are closed.