इजरायलमा मारिएका नेपालीका विषयमा सरकारको निर्णय: १० लाख राहत, शव यथाशीघ्र ल्याउने

काठमाडौं । इजरायलमा शनिबार विद्रोही समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाएका र त्यहाँ अलपत्र परेको नेपालीको विषयमा सरकाले विभिन्न निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण इजरायलको किबुज अलुमियामा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० जना नेपालीको दुःखद निधन भएकोमा मृतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ ।

सो घटनामा दिवङ्गत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न मंगलबार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय बैठकले गरेको छ । परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी सो घटनामा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय भएको छ ।

सो घटनामा निधन भएका नेपालीका परिवारलाई राहत स्वरूप प्रति परिवार १० लाख रुपैँया उपलब्ध गराउने र सो रकम अर्थ मन्त्रालयले गृह मन्त्रालय मार्फत निकासा दिने निर्णय भएको छ ।

इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा सो घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीव्रता दिने एवं घाइतेहरूको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ । इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन प्रणालीमार्फत सङ्कलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने र स्वदेश फर्कन चाहने इजरायलमा रहनुभएका नेपालीहरूलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

अध्ययन लगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरूलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने भएको छ । इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने पनि बैठकले निर्णय गरेको छ ।

इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने, नेपाल फर्कन चाहने नेपालीहरूलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्रान्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने पनि निर्णय भएको छ ।  इजरायलमा रहेका नेपालीहरूको उद्धारको लागि आवश्यकता अनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसँग समेतको सहयोग लिने सरकारले निर्णय भएको छ ।

सो घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आह्वान गर्ने निर्णय बैठकले गरेको छ ।

Comments are closed.