कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आज

काठमाडौं : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन्।  उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथग्रहण गराउँदै छन्। शपथ ग्रहणका लागि दिउँसो २ बजेको समय तय भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

कोशी प्रदेशमा १० महिनामा पाँचपटक मुख्यमन्त्री परिवर्तन भइसकेका छन् । यसअघि एमालेका हिक्मतकुमार कार्की र नेपाली कांग्रेसका उद्धव थापा २–२ पटक मुख्यमन्त्री बनेका थिए।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की शनिबार नियुक्त भएका हुन्।  प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

राजनीतिक समीकरण नै परिवर्तन गरेर कांग्रेस नेता कार्की एमालेको समर्थनमा कोशी प्रदेशको आठौं मुख्यमन्त्री बनेका हुन्।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कांग्रेसको शेखर कोइराला समूहका ८ र एमालेका ३९ जना गरी ४७ प्रदेशसभा सदस्यको समर्थनमा बिहीबार दाबी पेस गरेका कार्कीलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्रीमा प्रदेश प्रमुख खापुङले नियुक्त गरे।

नियुक्त गर्नुअघि प्रदेश प्रमुख खापुङले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गराएका थिए।

कार्कीको पक्षमा बहुमत हस्ताक्षर पुगेपछि मुख्यमन्त्रीमा दाबी गरेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने सनाखत प्रक्रियामै सहभागी बनेनन्।

Comments are closed.