सात महादेशका सर्वोच्च शिखर आरोहण गर्ने प्रकाशराज पाण्डेको अबको मिसन: अफ्रिकाको किलिमञ्जारो
काठमाडौं । सातवटै महादेशका उच्च हिमशिखरको आरोहण गरी ‘सेभेन समिट’ पूरा गर्ने लक्ष लिएका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दशैँ लगत्तै अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्ने हुनुभएको छ ।
सो शिखर आरोहणका लागि दशैँ टिकाको भोलिपल्ट अफ्रिकाको तान्जेनियातर्फ लाग्ने पाण्डेले बताउनुभयो । ‘टिकट भइसक्यो, टीकाको भोलिपल्टै त्यता लाग्छु’, उहाँले भन्नुभयो ।
तान्जेनियामा रहेको शिखर ५ हजार ८ सय ९५ मिटर अग्लो उक्त शिखर जुन अफ्रिकाकै सबैभन्दा अग्लो चुचुरो हो ।
गत जुन २८ र २९ तारिखमा ककेशश हिमशृङ्खलामा पर्ने युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल आरोहण गरेका पाण्डेको अर्को महादेशको यात्राको रूपमा अफ्रिका परेको छ । रुसमा रहेको एलब्रस हिमालको दक्षिणी र पूर्वी दुवै चुचुराको उनले सफल आरोहण गर्नुभएको थियो । माउण्ट एलब्रस ५ हजार ६ सय ४२ मिटर उचाइमा रहेको छ ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिएका ३१ वर्षीय पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसक्नुभएको छ । उहाँले सन् २०१८ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।
यसअघि सन् २०१६ मा आइसल्याण्ड पिक आरोहण गरेका पाण्डेले २०१७ मा दुई पटक स्काउट पिक आरोहण गरिसक्नुभएको छ । उहाँले २०१८ मा नेपालकै आमादब्लम हिमाल आरोहण गर्नुभएको थियो ।
सगरमाथा पछि सन् २०१९ मा पाण्डेले किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल आरोहण गर्नुभएको थियो । उहाँले हालसम्म नौ पटक विभिन्न हिमाल आरोहण गरिसक्नुभएको छ ।
एक वर्षभित्र विश्वका सातैवटा महादेशका उच्च शिखर चढेर स्वदेश फर्किएपछि सगरमाथाको दोस्रो पटक आरोहण गर्ने योजना प्रकाशको छ ।
हिमाल चढ्ने आफ्नो अभियानमा पर्वतारोहणको क्षेत्रमा काम गर्नेले चासो देखाएका भए पनि सरकारको तर्फबाट खासै चासो नदिएको पाण्डेले गुनासो गर्नुभयो ।
विभिन्न चन्दादाता सहयोगीको मद्दतमा आफ्नो यात्रा चलिरहेको उहाँले बताउनुभयो । ‘मेरो व्यक्तिगत स्वार्थ के छ र, देशको नाम राखौँ, विश्वका सबै उच्च शिखरमा देशको झण्डा फहराऊँ भन्ने उद्देश्यले आरोहणमा लागेको हो, तर सोचेजस्तो सहयोग पाइएको छैन, हरेक पटकको यात्रामा ऋण खोज्नु परेको छ’, उहाँले भन्नुभयो ।
Comments are closed.