मुम्बईमा प्रिमियर हुँदै फिल्म ‘चिसो घर’

काठमाडौँ : मुम्बई फिल्म महोत्सव-२०२३ मा नेपाली फिल्म ‘चिसो घर’ पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर) का लागि छनोट भएको छ। महोत्सव कात्तिक १० गतेदेखि १९ गतेसम्म भारतमा आयोजना हुनेछ।

एभरेष्ट फिल्म एकेडेमीबाट फिल्म अध्ययनमा डिप्लोमा गरेकी विदुर्षी गिरीले लेखनसँगै निर्देशन गरेको छोटो फिल्म ‘चिसो घर’ पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर) को लागि छनोट भएको हो। सामाजिक कथा वस्तुमा आधारित उक्त फिल्म ११ मिनेट लामो छ।

‘मैले गरेको पहिलो काम नै अन्तरराष्ट्रिय महोत्सवमा छनोट हुँदा उत्साहित छु। विश्वभरका फिल्मकर्मीसँग ज्ञान र अनुभव साट्नुका साथै त्यहाँ फिल्म हेर्न र आफ्नो फिल्मको प्रतिक्रियाका निमित तयार छु,’ निर्देशक गिरीले भनिन्।

उनका अनुसार ‘फोकस साउथ एशिया’ विधाअन्तर्गत फिल्म छनोट भएको हो। फिल्ममा सोनिका शाही ठकुरी, सरिता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन, मारिया कार्कीलगायतका कलाकारले अभिनय गरेका छन्।

सोही महोत्सवमा फिल्म ‘गाउँ आएको बाटो’ ‘साउथ एशिया प्रिमियर’ हुँदैछ। महोत्सवमा ‘द रेड सुटकेस’ र ‘गुराँस’ साउथ एशिया कम्पिटिसनअन्तर्गतको प्रतिस्पर्धामा छन्।

महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुरः द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ। छोटो फिल्मको विधामा आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स’ पनि प्रतिस्पर्धामा छ।

महोत्सवमार्फत नेपाली फिल्मको बजार अन्तरराष्ट्रियकरण हुन सहयोग मिलेको जानकार बताउँछन्। महोत्सवमा ७० देशका २५० फिल्म प्रतिस्पर्धामा छन्।

Comments are closed.