आज बडादशैँकाे महाअष्टमी, नवदुर्गाको पूजा आराधना गरियो

काठमाडौं । आज नवरात्रिको आठौँ दिन अर्थात् महाअष्टमी । आज महाकाली अर्थात् भद्रकालीको विशेष पूजाआजा गरिन्छ ।

देवी भागवतमा उल्लेख भए अनुसार प्राचीन कालमा दक्ष प्रजापतिको यज्ञ नाश गर्ने शक्तिशाली भद्रकाली करोडौँ योनी अर्थात् शक्तिका साथ महाअष्टमीका दिन उत्पन्न हुनुभएको थियो । त्यसैले यस दिन उहाँको सोह्र सामग्रीले पूजा गर्ने गरिन्छ ।

महाअष्टमीको दिन नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि पार्वतीका विभिन्न स्वरूपका देवीहरूको पूजाआजा गरिन्छ । पूजा पछि देवीलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बलि दिइन्छ ।

अष्टमीको दिन आफ्ना कुल देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने  प्रचलन छ । सात्त्विकहरूले भने नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि चढाउने गर्दछन् ।

महाअष्टमीको दिन दशैँघर हनुमान ढोकाको मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र ५४ वटै बोका बलि चढाउने गरिन्छ । महाअष्टमीको रातलाई कालरात्रि भनिन्छ । कालरात्रिमा रातभरि गुप्तपूजा गरिन्छ ।

Comments are closed.