भारतीय क्रिकेटका नायक तथा महान स्पिन बलर विशनसिंह बेदीको ७७ वर्षको उमेरमा निधन भएको छ । भारतीय खेलमन्त्री अनुराग ठाकुरले सोमबार बेदीको निधनले क्रिकेट खेलमा ‘अत्यन्त ठूलो क्षति’ भएको बताउनुभयो ।
“भारतीय क्रिकेट टिमका पूर्वकप्तान, बलर विशनसिंह बेदी रहनुभएन, जसलाई भारतले सधैँ सम्झिनेछ”, भारतीय किक्रेट कन्ट्रोल बोर्ड भारत (बीसीसीआई) का पूर्वअध्यक्ष ठाकुरले पत्रकारहरूसँग भन्नुभयो, “यो अत्यन्त दुःखद खबर हो र क्रिकेटका लागि अत्यन्त ठूलो क्षति हो, यो दुःखद घडीमा सम्पूर्ण क्रिकेट जगत् उहाँको परिवारको साथमा छ ।”
इरापल्ली प्रसन्ना, श्रीनिवास वेङ्कटराघवन र भागवत चन्द्रशेखरसहितको प्रसिद्ध चार स्पिन बलरमा समावेश विशनले सन् १९६७ देखि सन् १९७९ को बीच आफ्नो सानदार अन्तर्राष्ट्रिय करियरमा ६७ टेस्ट म्याचमा दुई ६६ विकेट लिनुभएको थियो ।
बायाँ हाते स्पिन बलर बेदीले सन् १९७४ देखि सन् १०७९ सम्म १० वटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्नुभएको थियो । बेदी प्राय साथीहरू, क्रिकेट खेलाडी र खेलका कमजोर प्रशासकहरूको आलोचनामा स्पष्टवादी हुनुहुन्थ्यो ।
ठूलो पगरी र हँसिलो अनुहारका साथ उहाँ दिल्लीमा क्रिकेट कार्यक्रमहरूमा नियमित सरिक हुनुहुन्थ्यो तर पछिल्ला केही वर्षमा उहाँको खराब स्वास्थ्यका कारण उहाँलाई सक्रिय सामाजिक जीवनबाट टाढा राखेको थियो ।
दुई वटा विवाह गर्नुभएका बेदीका दुवै श्रीमतीबाट दुई छोरा र दुई छोरी छन् । उहाँका कान्छा छोराले सन् २००२ की मिस इन्डिया जितेकी अभिनेत्री तथा मोडल नेहा धुपियासँग विवाह गरेका छन् ।
पाकिस्तानका पूर्वकप्तान इन्तिखाब आलमले उहाँको निधनमा दुःख प्रकट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “उहाँसँग मेरो धेरै सौहार्दपूर्ण र मित्रतापूर्ण सम्बन्ध थियो, उहाँ एक महान स्पिनर हुनुहुन्थ्यो, यो क्रिकेट र विशेषगरी भारत–पाकिस्तान क्रिकेटका लागि ठूलो क्षति हो ।”
Comments are closed.