खाँडादेवीका महिलाले पाउँछन् निःशुल्क भिडियो एक्सरेदेखि एम्बुलेन्स र घरमै सुत्केरी परीक्षण सेवा

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले प्रजनन् स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखी विभिन्न सेवा प्रवाह गरेको छ ।

गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवादेखि सुत्केरी र नवजात शिशुको घरमा नै गएर निःशुल्क स्वास्थ्य परीक्षण सेवा समेत प्रदान गरेको छ ।

खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठका अनुसार सो गाउँपालिकाका गर्भवती महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी हुन जान गाउँपालिले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । ‘गाउँपालिकाको एम्बुलेन्स बिरामी लिएर बाहिर गएको बेला बाहेक खबर आएपछि गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म ल्याउने काम एम्बुलेन्सले निःशुल्क गर्छ, बिरामी लिएर बाहिर गएको बेला पर्याे भने आफैँ व्यवस्थापन गरेर आउनुहुन्छ’, श्रेष्ठले भन्नुभयो  ।

सुरक्षित रूपमा सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन प्रेरित गर्न गाउँपालिकाले निःशुल्क एम्बुलेन्स व्यवस्था गरेको उहाँले बताउनुभयो । ‘राज्यले पनि यातायात खर्च भने २ हजार रुपैँया दिन्छ, त्यो पैसा उहाँहरूले पाउनु हुन्छ, तर गाउँपालिकाको एम्बुलेन्सले सकेसम्म निःशुल्क रूपमा स्वास्थ्य संस्थासम्म पुर्‍याउँछ’, श्रेष्ठले भन्नुभयो ।

सुत्केरी गराउन स्वास्थ्य संस्थामा लैजाने मात्र होइन, सुत्केरी भएर घर फर्किएपछि पनि तीन दिन र सात दिनकी सुत्केरी महिला र बच्चाको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मी सुत्केरीको घरमा नै पुग्छन् । त्यो पनि निःशुल्क ।

स्वास्थ्यकर्मीले घरमा गएर आमा र बच्चा दुवैको स्वास्थ्य परीक्षण गर्छन् । परामर्श दिन्छन्, आवश्यक परे औषधी समेत दिन्छन् । ‘प्रसूति पछिको अवस्था पनि त्यतिकै जोखिमपूर्ण भएकोले सो सेवा प्रदान गरिएको हो’, श्रेष्ठले भन्नुभयो ।

कुनै महिला स्वास्थ्य संस्थामा नआई घरमा नै सुत्केरी भए भने त्यो थाहा पाउने बित्तिकै स्वास्थ्यकर्मी घरमा पुग्छन्, जाँच गर्छन् र आवश्यक सेवा प्रदान गर्दछन् । त्यसपछि पुनः तीन दिनदेखि सात दिनको बिचमा र सात दिनदेखि १४ दिनको बिचमा घरमा नै पुगेर बच्चा र आमा दुवैको स्वास्थ्य जाँच गरी आवश्यक परामर्श दिएर फर्कन्छन् ।

गाउँपालिकाले सुत्केरी महिलालाई उत्प्रेरित गर्न सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम समेत सञ्चालन गरेको छ । सो कार्यक्रम अन्तर्गत सुत्केरी भेट गर्न गाउँपालिका उपाध्यक्ष कोसेली सहित जाने गर्नुभएको छ । बच्चाले लगाउने लुगा तथा आमाको लागि घ्यु, अण्डा लगायत पोसिलो खाने कुरा लिएर भेट्न जाने गाउँपालिका उपाध्यक्ष रमा घिसिङले बताउनुभयो ।

यसो गर्दा सुत्केरी अवस्थामा महिलामा परेको मनोवैज्ञानिक प्रभावलाई कम गराउन सहयोग मिल्ने अनुभव उपाध्यक्ष घिसिङको छ । ‘यसरी भेट्न जाँदा सुत्केरी महिलाले छुट्टै अनुभूति गर्छन्, आफूलाई पनि आनन्द आउँछ’, उहाँले भन्नुभयो ।

यस बाहेक गाउँपालिकाले गर्भवती महिलाको लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गरेको छ । गाउँपालिकाको पकरबास स्वास्थ्य चौकीमा नियमित र अन्य स्वास्थ्य संस्थामा घुम्ती सेवाको रूपमा सो सेवा सञ्चालन गरिएको श्रेष्ठले बताउनुभयो ।

Comments are closed.