देश अयोग्य र नालायकको हातमा पर्‍यो: शंकर पोखरेल

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेका नेता कार्यकर्ताको सङ्ख्यामा कुनै कमी नरहेको बताउनुभएको छ ।

शुक्रबार नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं–१ दाङद्वारा आयोजित कार्यकर्ता भेला तथा पर्वहरूको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेमा नेता कार्यकर्ताको सङ्ख्या बढेको बताउनुभयो । जति सङ्ख्यामा नेता कार्यकर्ता बढेका छन् त्यस अनुपातमा जनताको सङ्ख्या नबढेको उहाँले प्रष्ट पार्नुभयो । जनताको मन जित्न चाडपर्वको अवसरलाई प्रयोग गर्न सक्नु पर्ने पोखरेलले बताउनुभयो ।

यति बेला नेपालमा बलिया राजनीतिक शक्ति आवश्यक रहेको पोखरेलले बताउनुभयो । ‘नेपालमा बलियो राजनीतिक शक्ति निर्माण हुन नसकेको कारण नेपाल बन्न सकेन, राजनीतिक अस्थिरताको कारण नेपाल बन्न सकेन, नेपालका धेरै राजनीतिक दलले जनताको अभिमतलाई विभाजित गर्दिएका कारण नेपाल बन्न सकेन’, उहाँले भन्नुभयो ।

नेपालमा अब धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दल आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘नेपालको राजनीतिक स्थायित्वको लागि बलियो राजनीतिक शक्तिको आवश्यकता छ’, उहाँले भन्नुभयो ।

परिवर्तनको प्रतिफल जनताको बिचमा आएन भनेर जनतामा निराशा फैलाउने प्रयास गरिएको भन्दै उहाँले आलोचना गर्नुभयो । नेकपा एमालेको शासनकालमा भएको विकासका कारण जनतामा आशा जागेको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो ।

नेपालमा एमालेको शासनकालमा जति विकास कहिल्यै हुँदै नभएको उहाँले दाबी गर्नुभयो । एमाले सरकारबाट हटेपछि विकास निर्माणका सबै काम ठप्प भएको उहाँले बताउनुभयो । नेकपा हुनु र नहुनेको अर्थ देशले अहिले बेहोरिरहेको उहाँको भनाइ छ ।

वर्तमान गठबन्धन सरकार तस्करलाई संरक्षण गर्ने सरकार भएको उहाँले दाबी गर्नुभयो । सरकार दलाल, नोकरसाह र कमिसनतन्त्रको पक्षमा रहेको उहाँको भनाइ छ । सरकारले एकाधिकारवादी ठुला व्यापारीलाई मात्र संरक्षण गर्दा अहिलेको अर्थतन्त्रको संकट देखिएको उहाँले बताउनुभयो ।

क्विन्टलका क्विन्टल सुन अन्तराष्ट्रिय विमानस्थलबाटै सरकारको संरक्षणमा भित्र्याइएको उहाँले दाबी गर्नुभयो । मुलुकको अरबौँ अरब रुपैँया सुन तस्करीमा प्रयोग भएको उहाँले बताउनुभयो । हुण्ड कारोबारीका माध्यमबाट नेपालका सबै पैसा सोहोरेर देशलाई टाट पल्टाउने काम गरेका उहाँको भनाइ छ

सरकारको गलत आर्थिक नीतिकै कारण देश गम्भीर आर्थिक संकटमा परेको उहाँले दाबी गर्नुभयो । ‘यो सरकार कति अयोग्य र नालायकको हातमा पुगेको रहेछ भन्ने कुरा बुझ्नु जरुरी छ’, उहाँले भन्नुभयो ।

चुनावको बेलामा सही निर्णय गर्न नसक्दा राष्ट्रले कस्तो परिणाम भोग्नु पर्ने रहेछ भन्ने कुरा अहिले देखिएको उहाँले बताउनुभयो । सही दृष्टिकोण बोकेको पार्टीको हातमा सरकार पुग्यो भने मात्र देशले विकास गर्ने उहाँको भनाइ छ ।

Comments are closed.