कप्तान अञ्जिलाको बायोपिक छायांकन सुरु

इलाम : नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एवम् गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको बायोपिक मुभी ‘अञ्जिला’ को छायांकन सुरु भएको छ।

मोसन पिक्चर्सले अञ्जिलाको गृहक्षेत्र सूर्योदय नगरपालिकाको आइतबारेबाट छायांकन सुरु गरेको हो। फिल्ममा ‘अञ्जिला’ पात्रको भूमिका अञ्जिला आफैँले निभाउँदै छिन्।

बायोपिकका लागि उनले अभिनेत्री सिर्जना सुब्बासँग चार महिना अभिनय कलासमेत सिकेकी थिइन्। अञ्जिला मुख्य भूमिका रहेको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, हरि खड्का र विजय बरालको पनि अभिनय रहेको छ।

मिलन चाम्सको निर्देशन रहेको फिल्मको मुख्य निर्माताको रूपमा सशस्त्र प्रहरी बल एपिएफका पूर्व एसपी प्रेमकुमार श्रेष्ठ र केन्द्र लिम्बू रहेका छन्।

निर्देशक चाम्सका अनुसार सोमबार माओत्से र सिर्जनाको दृश्यसँगै छायांकन सुरु भएको छ। माओत्सले अञ्जिलाको वास्तविक बाबु र सिर्जनाले आमाको भूमिका निर्वाह गरेका छन्।

दयाहाङ र मिरुनाले मंगलबारदेखि अभिनय थाल्ने छन्। त्यस्तै, अञ्जिालले तीन चार दिनपछि अभिनय थाल्नेछिन्। फिल्मलाई इलाम, झापा र काठमाडौंमा खिच्ने तयारी छ।

इलाममा २६ दिन तथा काठमाडौंमा १९ दिनको छायांकन तालिका रहेको छ।

फिल्ममा अञ्जिलाको बाल्यकालदेखि कप्तान बन्दासम्मको संघर्ष र यात्रा प्रस्तुत गरिनेछ। मुनलभ इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई आगामी चैत वा वैशाखमा रिलिज गर्ने योजना रहेको छ।

Comments are closed.