काठमाडौं । सेभेन समिट अभियानमा रहनुभएका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गर्नुभएको छ ।
अफ्रिकाको ताञ्जेनियामा रहेको ५ हजार ८ सय ९५ मिटर अग्लो सो शिखर स्थानीय सय अनुसार ३१अक्टोबर २०२३ को बिहान ६ः४० बजे उहाँले सफल आरोहण गर्नुभएको हो ।
पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्ड तथा स्काउटको झण्डा फहराउनु भएको छ । सो पर्वत आरोहणका लागि पाण्डे कात्तिक ८ गते गते नेपालबाट त्यस तर्फ जानुभएको थियो । पाण्डेलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र किरण केसीले नेपालको राष्ट्रिय झण्डा दिएर बिदाइ गर्नुभएको थियो ।
एक वर्ष भित्र विश्वका सातवटै महादेशका सात उच्च शिखर आरोहण गर्ने लक्ष राख्नु भएका पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा, युरोपको सर्वोच्च शिखर एलब्रस पछि यो तेस्रो महादेशको उच्च शिखर आरोहण हो ।
सन् २०१६ बाट हिमाल आरोहण गर्न सुर गर्नुभएका पाण्डेले सन् २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो । उहाँले सन् २०१९ मा किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल पनि आरोहण गरिसक्नु भएको छ । पाण्डेले गत जुन २८ र २९ तारिखमा रसियामा रहेको युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल आरोहण गर्नुभएको थियो ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिनुभएका ३२ वर्षीय पाण्डे एक वर्षमा ६ वटै महादेशका ६ अग्ला चुचुरा आरोहण गरी दोस्रो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभियानमा हुनुहुन्छ ।
पाण्डेलाई पर्वतारोहणका लागि गिएरका सामाग्री मकालु आउट फिट ब्राण्डले उपलब्ध गराउँदै आएको छ ।
Comments are closed.