सरकारको स्वीकृतिबिना दलाई लामाका उत्तराधिकारी छान्न पाइन्न: चीन

पेकिङ : चीनले तिब्बती आध्यात्मिक गुरु ८८ वर्षीय दलाई लामाका उत्तराधिकारी देशभित्रैबाट हुनुपर्ने र त्यसका लागि अनुमति लिनुपर्ने बताएको छ।

चीन सरकारले श्वेतपत्र जारी गर्दै दलाई लामा र पञ्चेन लामा लगायत तिब्बतमा रहेका सबै अवतारी बुद्धका लागि चीनबाट उत्तराधिकारी खोज्नुपर्ने‚ स्वर्ण कलशबाट छानिनुपर्ने र चीन सरकारको स्वीकृति लिनुपर्ने बताएको छ।

दलाई लामाले आफ्नो उत्तराधिकारी नियुक्त गर्न नेतृत्व लिने कुरामा चीन चिन्तित छ। पन्धौँ दलाई लामा भारत र मंगोलियाबाट हुने विषयले चीन निकै चिन्तित छ। दलाई लामाका उत्तराधिकारीको तिब्बतीमा ठूलो प्रभाव छ।

चीन सरकारले दलाई लामाको उत्तराधिकारीलाई आफ्नो स्वीकृति आवश्यक पर्ने कुरामा जोड दिएको छ। तिब्बतमा पञ्चेन लामा दोस्रा ठूला आध्यात्मिक नेता हुन्। हालका पञ्चेन लामालाई तिब्बतमा स्वीकार नगरेकाले चीनलाई यो चिन्ताको विषय बनेको छ।

सन् १९९५ मा चौधौँ दलाई लामाले तिब्बतका ६ वर्षीय गेदुन चोकी नीमालाई एघारौँ पञ्चेन लामा नियुक्त गरेका थिए। यसको तीन दिनमा ती बालकको पूरै परिवार रहस्यमय तरिकाले बेपत्ता भएको थियो। उनलाई चीन सरकारले बेपत्ता पारेको भन्दै विवाद बढेको थियो। ती बालक बेपत्ता भएको केही दिनमै चीन सरकारले ६ वर्षीय अर्कै बालकलाई पञ्चेन लामा नियुक्त गरेको थियो। यसको तिब्बतीले निकै विरोध गरेका थिए।

पञ्चेन लामा ताशी लूनपो मठका प्रमुख हुन्छन्। पञ्चेन लामालाई अमिताभ बुद्धका अवतार मानिन्छ। दलाई लामा अवलोकितेश्वरका स्वरूप मानिन्छन्। नयाँ दलाई लामाको खोजीमा पञ्चेन लामाको ठूलो भूमिका रहन्छ।

‘नयाँ युगमा शिचाङ (तिब्बत) को शासनमा चिनियाँ कम्युनिष्ट पार्टीको नीतिहरू : स्थिति र उपलब्धिहरू’ शीर्षकको श्वेतपत्रले तिब्बतमा पृथकतावादसँग लड्ने पनि उल्लेख गरेको छ। ‘घुसपैठ, विध्वंस र पृथकतावाद विरुद्धको लडाइँ जारी छ… शिचाङले पृथकतावादसँग लड्न सक्रिय दृष्टिकोण अपनाएको छ’, श्वेतपत्रमा उल्लेख छ।

दलाई लामा विरोधी हुन् : चीन

श्वेतपत्रमा भनिएको छ, ‘दलाई समूहको प्रतिक्रियावादी स्वभाव पर्दाफास भएको छ र क्षेत्रीय सरकारले यसको सबैखाले प्रतिरोध गर्नेछ।’

यसमा भनिएको छ, ‘एकता र स्थिरता वरदान हो भने विभाजन र अशान्ति विपत्ति हो। जनता देशको एकता, राष्ट्रिय सार्वभौमसत्ता र जातीय एकताको रक्षा गर्न थप प्रतिबद्ध छन्।’

अमेरिकाले तिब्बती मुद्दाका लागि विशेष संयोजक नियुक्त गरेकोमा पनि चीनले कडा विरोध गरेको छ। दलाई लामाको उत्तराधिकारी छनोटमा चीन सरकारले हस्तक्षेप गर्न नहुने अमेरिकी भनाइको विरोध गरेको छ।

श्वेतपत्रमा तिब्बतमा तिब्बती बौद्ध धर्ममाथि कुनै कारबाही नगरिने र तिब्बती भाषालाई प्रवर्धन गर्ने उल्लेख छ। तिब्बतमा १७०० भन्दा बढी गुम्बा र बिहारका साथै ४६ हजारभन्दा बढी बौद्ध भिक्षु भएको चीनले जानकारी दिएको छ।

चीनले तिब्बतलाई ‘दक्षिण एशियाको द्वार’ भन्ने उल्लेख गरेको छ। यसमा भारतका अरूणाचल प्रदेशका केही गाउँ पनि परेका छन्। श्वेतपत्रमा नेपाल हुँदै रेल र सडक सञ्जालसहित तिब्बत दक्षिण एशियाको प्रवेशद्वार बन्ने पनि उल्लेख छ। चीनले तिब्बतलाई शिचाङ भन्छ।

पूर्वाधार विकासका सन्दर्भमा केरुङ (चिलोङ) बन्दरगाहलाई अन्तरराष्ट्रिय राजमार्ग प्रवेशद्वारका रूपमा विस्तार गरिएको बताएको छ।

Comments are closed.