जिफण्टको टोली जुट्यो जाजरकोटका भूकम्प पीडितको लागि अस्थायी आवास निर्माणको काममा

काठमाडौं । नेकपा एमालेको जनवर्गिय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को टोलीले शुक्रबारबाट जाजरकाटमा भूकम्पले भत्किएका व्यक्तिगत भवनका संरचना हटाई नयाँ घर टहरा निर्माण गर्ने काम सुरु गरेको छ ।

नेकपा एमालेले जाजरकोट भूकम्पले क्षति पुर्‍याएर घरबार विहीन भएका सर्वसाधारणलाई अस्थायी घर टहरा निर्माणमा एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरे बमोजिम जिफण्टको टोलीले प्रभावित क्षेत्रमा पुगेर शुक्रबारबाट काम सुरु गरेको हो ।

पार्टी पोलिटब्युरो सदस्य एवं जिफण्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा गएको मजदुरहरूको टोलीले जाजरकोटको भेरी नगरपालिका–३ बाट भत्किएका संरचना हटाउने काम सुरु गरेको छ । एमालेका मजदुर नेता कार्यकर्ताले शुक्रबाट भत्किएका संरचना हटाएर नयाँ घर टहरा बनाउन सुरु गरेका हुन् ।

स्वयंसेवक टोली लिएर जाजरकोट पुग्नुभएका  जिफण्ट अध्यक्ष विनोद श्रेष्ठ सहितको टोलीले बिहीबार नै कार्यक्षेत्रमा पुगेर बस्तुस्थितको अवलोकन गर्नुका साथै स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेको थियो । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती सहितको टोलीसँग छलफल र आवश्यक सल्लाह लिएर सो टोलीले काम सुर गरेको हो ।

कात्तिक १७ गते आएको विनाशकारी भूकम्पबाट क्षति भएका क्षेत्रमा पुगेर जिफण्टको टोली कात्तिक ३० गते जाजरकोटमा टेण्ट हालेर बसी सेवाको काममा जुटको छ ।

Comments are closed.