राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासहित सातै प्रदेशका सभामुख र उपसभामुख अष्ट्रेलिया जाँदै

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा ७ प्रदेशका सभामुख र उपसभामुखकाे टाेली आज अष्ट्रेलिया जाँदैछ ।

वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिनाकाे नेतृत्वमा १२ सदस्यीय प्रतिनिधिमण्डल आज राति अष्ट्रेलिया जान लागेको हो ।

संयृुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को संसद सहयोग परियोजना अन्तर्गत अध्ययन भ्रमण हुन लागेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । युएनडीपी नेपाल र संघीय संसद् सचिवालयबीच समझदारी भई संघीय संसद् र प्रदेश सभाहरुमा संसद् सहयोग परियोजना सञ्चालित छ ।

प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद् र न्यू साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसद्हरूमा विभिन्न भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम छ ।

प्रतिनिधि मण्डलमा अध्यक्ष तिमिल्सिना, सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ, गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, मधेश प्रदेश सभाका  उपसभामुख बबिता कुमारी राउत ईशर, वाग्मती प्रदेश सभाका  उपसभामुख अपसरा चापागाईं खत्री र  लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी हुनुहुन्छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, संघीय संसद् सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र अध्यक्ष तिमिल्सिनाको स्वकीय सचिव ऋचा पोखरेल पनि प्रतिनिधीमण्डलमा सहभागी हुनुहुन्छ ।

भ्रमण सम्पन्न गरी अध्यक्ष मंसिर १८ गते र प्रतिनिधिमण्डलका अन्य सदस्य मंसिर १६ मा नेपाल आइपुग्ने कार्यक्रम छ ।

Comments are closed.