एमाले सिद्धाउने गरी भएको षडयन्त्र असफल भएको छ : केपी ओली

काठमाडौं । नेकपाका एमाले अध्यक्ष केपी शर्माले ओलीले एमाले सिद्धाउने गरी भएको षडयन्त्र असफल भएको बताउनुभएको छ ।

शुक्रबार बैतडीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले नेकपा एमाले फुटाउने र सिद्धाउने अनेक षडयन्त्र हुँदा पनि पार्टी एक भएर अघि अघि बढेको बताउनुभयो । नेकपा एमालेले आयोजना गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गतको कार्यक्रमको दोस्रो दिन भएको कार्यक्रममा बोल्दै ओलीले नेकपा एमाले जनताले जोगाएको पार्टी भएको बताउनुभयो ।

पार्टी जोगाएको भन्दै उहाँले कार्यकर्तालाई धन्यवाद दिनुभयो ।  ‘सबै षडयन्त्रलाई परास्त गरेर पार्टी जोगाउनु भएको छ, पार्टी फेरी पहिलेकै ठाउँमै आएको छ, देशी विदेशी सारा शक्ति लागि पार्टीलाई सिद्धाउन लाग्दा पनि पार्टी सकिएन, तपाईँ सबैलाई धन्यवाद’, ओलीले भन्नुभयो ।

पछिल्लो समय देशमा विभिन्न नाममा हिंसा भड्काउने काम भएको भन्दै ओलीले त्यसलाई रोक्ने नेपाली नागरिक सचेत हुन आवश्यक रहेको बताउनुभयो । अहिले धर्मका नाममा, पहिचानका नाममा, जातका नाममा अनेक खालका हिंसा भड्काउने र प्रतिक्रान्ति गर्ने पर्यन्त भइरहेको भन्दै उहाँले सचेत गराउनुभयो ।

देशलाई अगाडी बढाउने संकल्पका साथ नेकपा एमालेले संकल्प यात्रा सुरु गरेको ओलीले बताउनुभयो । यात्राको क्रममा मध्य पहाडमा समृद्धिको आधार खोजिने उहाँले जानकारी दिनुभयो ।

अहिलेको गठबन्धन सरकार धेरै समय नटिक्ने र सरकार आफ्नै कारणले ढल्ने उहाँले दाबी गर्नुभयो । सरकार मक्किएर धोद्रो भइसकेको बताउँदै ओलीले कुनै पनि बेला ढल्न सक्ने बताउनुभयो ।

Comments are closed.