संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राजनीतिक सहमतिमै टुंग्याउनुपर्छ : कानुनमन्त्री गुरुङ
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राजनीतिक विषय भएकाले राजनीतिक सहमतिबाटै टुंग्याउन आग्रह गरेका छन् ।
न्याय, कानुन तथा मानवअधिकार समितिको आज बसेको बैठकमा मन्त्री गुरुङले बृहत शान्ति सम्झौतामा जस्तै यो विधेयकमा पनि राजनीतिक सहमति खोज्न दलहरुलाई आग्रह गरेका हुन् । यसलाई टुंगो लगाउने जिम्मेवारी कानुन समितिकै भए पनि शीर्ष तहमा छलफल गरेर सहमति नखोजी टुंग्याउन नहुने उनको भनाइ छ ।
उपसमितिले विधेयकका चारवटा मुख्य विषयमा सहमति जुटाउन सकेको छैन । उपसमितिले यी विषय समितिबाटै टुंग्याउने गरी गत असोजमा प्रतिवेदन पेस गरेको थियो । उपसमितिले पार्टीको शीर्ष तहबाट सहमति खोज्नसमेत दलका सचेतकलाई निर्देशन दिएको थियो । सोहीअनुसार पटक-पटक शीर्ष तहमा छलफल भए पनि नेताहरु सहमतिमा पुग्न नसकेको मन्त्री गुरुङले बताए । एमाले सांसद प्रतीक्षा तिवारी र माओवादी सांसद पूर्ण घर्तीले पनि यो राजनीतिक प्रकृतिको विधेयक भएकाले सहमतिमै टुंग्याउनुपर्ने तर्क गरेका छन् ।संक्रमणकालीन विधेयक महत्त्वपूर्ण भएकाले यसलाई छिटो टुंग्याउन बिदाको दिनबाहेक निरन्तर बैठक राख्ने समितिले जनाएको छ ।
Comments are closed.