दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङ्गमाथि छुरा प्रहार

काठमाडौं । दक्षिण कोरियामा विपक्षी दलका नेतामाथि छुरा प्रहार भएको छ ।दक्षिणी बन्दरगाह सहर बुसानमा पत्रकार सम्मेलनका क्रममा एक व्यक्तिले विपक्षी दलका नेता ली जे म्युङ्गमाथि छुरा प्रहार गरेको योन्हाप समाचार संस्थाले जनाएको छ । उनको बायाँ गर्दनमा चुरा प्रहार भएको समाचारमा जनाइएको छ । आक्रमणकारी व्यक्तिलाई तत्काल पक्राउ गरिएको छ ।
विपक्षी नेता ली जे म्युङ्ग सन् २०२२ मा भएको राष्ट्रपति निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए ।आक्रमण भएको २० मिनेटपछि उनलाई अस्पताल पुर्याइएको छ । उनी होसमै रहेको जनाइएको छ । २०२४ मा हुने आम निर्वाचनमा उनी उम्मेदवार बन्ने तयारीमा रहेको आकलन गरिएको छ ।
५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख हुन् । २०२२ को राष्ट्रपति निर्वाचनमा उनी ०.७३ प्रतिशतको झिनो मतान्तरले पराजित भएका थिए । दक्षिण कोरियाको इतिहासमा यति थोरै मतान्तरले हार जित भएको चुनावी प्रतिस्पर्धा पहिलो पटक हो ।

Comments are closed.