काठमाडौं । नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुले चेतन अयडीको हत्यामा संलग्नलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको विरोधमा प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले शुक्रबार काठमाडाैंकाे लैनचाैर क्षेत्रमा प्रदर्शन गरेकाे हाे । प्रदर्शनमा सहभागी अनेरास्ववियुका नेता-कार्यकर्ताले चेतन अयडीलाई न्याय दे, पैसामा बिक्ने न्यायाधीशहरु मुर्दावाद लगायत नारा लेखिएका प्लेकार्ड बाेकेका थिए ।
अनेरास्ववियुका अध्यक्ष समिक वडालले न्यायलय सेटिङमा चल्ने अवस्था भएकाले त्यसको विरोधमा प्रदर्शन गरिएको बताउनुभयो । चेतन अयडीको हत्या आरोपीलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्नेमा सर्वोच्चकाे आदेश राजनीतिक आवरणमा आएको उहाँले आरोप लगाउनुभयो ।
सर्वोच्च अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा नै राख्नुपर्ने अवस्था देखिन नआएको भन्दै आरोपितहरुलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । बिहीबार सर्वाेच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका क्रममा मंसिर ४ गते मतदानका दिन बाजुरामा अयडीको हत्या भएको थियो ।
Comments are closed.