१४ किलो सुन प्रकरण तस्करीका योजनाकार कलेज सञ्चालक गुरुङ फरा

काठमाडौं । डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवन कुमार गुरुङ सुन तस्करीमा संलग्न रहेको खुलेको छ । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा प्लाटिनम कलेजका कार्यकारी प्रमुख जीवनकुमार गुरुङ योजनाकार रहेको पाइएको हो । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय भइरहेको तस्करी प्रकरणको मुख्य नाइके समेत गुरुङ रहेको दाबी गर्दै थप छानबिन र अनुसन्धान गरिरहेको जनाएको छ । पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार छन् । भन्सार कार्यालयले ठूला सुन कारोबारीको कनेक्सन फेला नपारी भरियालाई मात्रै डेढ अर्बको बिगो दाबीसहित मुद्दा दायर गरेको छ।एक महिनाअघि विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित सोमबार मुद्दा दायर भएको हो। सुन ल्याउन भरियालाई दुबई पठाउने गोरखाका मीन घले र लमजुङका दनबहादुर गुरुङलाई समेत जीवनकुमारले परिचालन गरेको खुलेको छ । जीवनकुमार सुन लिन दुबई पठाउने, सुन ल्याउने, ल्याएको सुन नेपाल हुँदै दिल्लीसम्म पु¥याउने योजनामा सामेल छन् ।यसअघि मीन घले र दनबहादुरले गोरखाका चन्द्र घले र स्याङ्जाका कृष्णकुमार श्रेष्ठलाई पटकपटक सुन लिन दुबई पठाएको पाइएको थियो । मंसिर २१ गते मध्यरात फ्लाई दुबईबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । मीन र दनबहादुर जीवनकुमारको खटनपटनमा तस्करीमा संलग्न भएको पाइएको छ । जीवनले कलेजसँगै डिस्को पनि चलाएको पाइएको छ। घलेले जीवनकुमारका बारेमा पोलेपछि खोजी कार्य भएको थियो। तर उनी फरार छन् । उनको माओवादीका विद्यार्थी नेता दिपेश पुनसँग निकटता देखिएको छ । गुरुङ वर्षौदेखि सुन तस्करी लगायत आपराधिक गतिविधिमा संलग्न रहेको स्रोत बताउँछ । तस्करीमा संलग्न मुख्य व्यक्ति पक्राउ नपरेसम्म अवैध सुन ओसापसार रोकिँदैन। त्यही भएर पटकपटक ठूलो परिमाणमा निर्वाध रुपमा विमानस्थलबाट सुन तस्करी भइरहेको छ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले घटनाको छानबिनका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो। समितिले भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डेयलाई बुझाएको प्रतिवेदनको आधारमा १० जना विरुद्ध मुद्दा दायर गरिएको हो। जसमा ८ जना पक्राउ परेका र २ जना फरार प्रतिवादी रहेका छन्। फरारमा विना गुरुङ र दिदी भन्ने एक जना महिला रहेकी छिन्। विमानस्थल भन्सार कार्यालयले जीवनकुमारलाई पक्राउ गर्न प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेर आग्रह गरेको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट गत आइतबार पक्राउ पुर्जी जारी भएको छ । ‘दुबईबाट दिल्लीसम्म अवैध तरिकाले सुन ओसारपसार गर्न सम्पूर्ण बन्दोबस्त जीवनकुमारले मिलाएको देखिन्छ,’ ती अधिकारीले भने । जीवनकुमारले सुन ल्याउन मीन घले र दनबहादुरलाई परिचालन गर्ने र उनीहरूले चन्द्र घले र कृष्णकुमार श्रेष्ठलाई दुबई पठाउने गरेको विभागले भन्सार अधिकृत मीनराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले फेला पारेको थियो । उनीहरूले दुबईमा भारतीय नागरिक अंकित अग्रवाल र गुरु भनिने व्यक्तिलाई भेटेर सुन ल्याउँथे । मीन घले स्वयं पनि सुन बोक्न दुबई जाने–आउने गरेको भेटिएको थियो । मीनकी श्रीमती धनकुमारी र दनबहादुरकी श्रीमती बिनाले समेत भरियाहरूसँग कुराकानी गरेर सुन बुझ्ने गरेको भेटिएको छ ।
उक्त प्रतिवेदनमा मीन बहादुर घले, चन्द्र घले र कृष्णकुमार श्रेष्ठले पटक–पटक गरी १३८ किलो सुन सेटिङ मिलाएर ल्याउने गरेको उल्लेख गरिएको छ। बारपाक गोरखाका मीनबहादुर, कृष्णकुमार श्रेष्ठ र चन्द्र घलेलाई परिचालन गरी दुबईस्थित अंकित अग्रवाल र गुरु भन्ने व्यक्तिसँग सम्पर्क गरी १४ किलोका दरले अवैध रुपमा सुन नेपाल भित्र्याउने गरेका थिए। अंकित र गुरु भन्ने व्यक्तिलाई भने प्रतिवादी बनाइएको छैन। उनीहरुको बारेमा थप अनुसन्धान गर्ने भनिएको छ। तस्करहरूले ल्याएको सुन विमानस्थलको शौचालयभित्र लुकाएर राख्ने गरेको तथ्य फेला परेको थियो । त्यहाँबाट नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको मिलेमतोमा विमानस्थलभित्रैकै ‘चोर बाटो’ बाट सुरक्षा जाँच छल्दै सुन बाहिर निकाल्ने गरिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । विमानस्थलबाट सुन बाहिर निकाल्न प्राधिकरणका कर्मचारीहरू काठमाडौंका शेरबहादुर बस्नेत, राधाकृष्ण श्रेष्ठ, नुवाकोटका लेकबहादुर तामाङ, धादिङका अनिल श्रेष्ठ र रमेश देउला संलग्न रहेको पाइएको थियो । उनीहरू पक्राउ परिसकेका छन् ।भन्सार विभागले गरेको छानबिन र आरोपीहरूको बयानका आधारमा घले समूहले सन् २०१४ देखि नै सुन ल्याउने गरेको प्रमाण भेटिएको थियो । विभागका अनुसार मीन, चन्द्र र धनबहादुरको १० वर्षअघिदेखि नै विदेश आउजाउ शंकास्पद र अस्वाभाविक देखिएको छ । उनीहरूले त्यति बेलादेखि नै सुन तस्करी गरिरहेको निष्कर्षसहित छानबिन समितिले पटकपटक दुबई, सिंगापुर, हङकङ, थाइल्यान्डलगायत सुन सहजै ल्याउन सक्ने देशमा आवागमन गरिरहेका यात्रुमाथि निगरानी बढाउनुपर्ने र उक्त सूचना प्रहरी, भन्सार र अध्यागमनलाई दिने व्यवस्था मिलाउनुपर्ने सुझावसमेत दिएको छ । छानबिनका क्रममा गत पुस यता मात्रै १ सय ३८ किलो सुन उक्त गिरोहले नेपाल भित्र्याएको पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ ।१४ किलो सुन प्रकरणमा ९ जना पक्राउ परिसकेका छन् भने केही तारिखमा छन् । एक वर्षमा मात्र कृष्णकुमारले १४ किलोका दरले ७ पटक, मीनले १४ किलो र चन्द्रले ४, ८ र १४ किलोसहित १ सय ३८ किलो सुन विमानस्थल हुँदै बाहिर निकालेको स्वीकार गरेको भन्सार विभागले जनाएको छ ।
यो घटना छानबिन गर्दै जाँदा एमआरपीभन्दा पहिले प्रयोग हुने हस्तलिखित पासपोर्ट समेत प्रयोग गरेर तस्करी हुने गरेको निष्कर्ष समितिको छ भने कृष्ण कुमार श्रेष्ठसँग १७ वटा पासपोर्ट फेला परेको थियो।थप अनुसन्धानको लागि भन्सार कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई पत्राचार गरेको छ।१४ किलो सुन प्रकरणमा हुन्डी, क्रिप्टोकरेन्सी र सङ्गठित अपराध जोडिएकाले सीआईबीको अनुसन्धान थप आवश्यक देखिएको हो।सीआइबीले यसअघि साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको ६१ किलो सुन प्रकरण, २०७९ मा बरामद भेषभित्रको ९ किलो सुन, ३३ किलो सुन प्रकरणको अनुसन्धान गरेको थियो।

Comments are closed.