सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले भारतसँग भएका पछिल्ला सम्झौताप्रति असन्तुष्टि जनाउँदै सरकारसँग सबै सम्झौताका दस्ताबेजहरु माग्ने भएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा नेपाल—भारतको बीचमा भएका सम्झौताहरु सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
विभिन्न देशसँग भएका नेपालको प्राकृतिक श्रोत, साधन, उर्जा, जलश्रोत लगायतका सम्झौताहरु माग गरी पार्टीले अध्ययन गर्ने निर्णय गरेको बताए।
उनले भारतसँग सरकारले गरेका पछिल्ला सम्झौताहरु संवेदनशील रहेको बताए। बैठकले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुको कामको प्रगति विवरण पार्टीमा बुझाउन निर्देशन दिएको छ । पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनबाट उम्मेदवार बनेकाहरुलाई जिताउन पार्टी पंक्तिलाई आग्रह गरेको छ ।
उनले भने, ‘आजको बैठकले हामीले केही दिनअघि राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । गठबन्धनको तर्फबाट त्यसलाई विजयी गराउन पार्टीका सबै कमिटीहरु, स्थानीय तहका मतदाता, प्रतिनिधि, पार्टी कमिटी सबैलाई एकजुट भइ लाग्न र उम्मेदवार जिताउन पार्टीले पुनः आह्वान गरेको छ । नेपाल र भारतको बीचमा भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा दुई देशहरुको बीचमा भएको केही सम्झौताहरु त्यो अहिले बजारमा चर्चामा रहेका छन् । यी र यस्ता सहमति धेरै देशसँग नेपालले गरेको छ । त्यो कुरालाई सार्वजनिक गर्न हाम्रो पार्टीको केन्द्रिय कमिटीको बैठकले प्रश्ताव गरेको थियो । त्यसलाई सँगै जोडेर पार्टीले यसबारेमा विभिन्न देशसँग भएका नेपालको प्राकृतिक श्रोत, साधन, उर्जा, जलश्रोत जे जस्ता चिजहरु छन् । त्यसको बारेमा गरिएका सदुपयोग गरिने शर्तहरु केके छन्, ती सबै डकुमेण्ट नेपाल सरकारसँग माग गर्ने र पार्टीमा अध्ययन गरी निस्कर्ष निकाल्ने निर्णय गरेका छौँ । किनभने विषयवस्तु संवेदनशील रुपमा बजारमा उठिरहेको छ । पार्टीले कर्तव्य सम्झिएको छ । सरकारमा हाम्रो पार्टीका तर्फबाट जानुभएका मन्त्रीहरुले आजसम्म गरेका कामहरु कस्ता छन्, प्रगति कस्तो छ ? यसको विवरणसहित तत्काल पार्टीलाई विवरण बुझाउन निर्देशन दिएको छ । आउँदो माघको ८ गते दिनको ११ बजे पार्टीको महाधिवेशनको सन्दर्भमा तयार गरिने र गरिएको मस्यौदा राजनीतिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्न समितिको बैठक बोलाइएको छ ।’
बैठकले माघको ८ गते पार्टीको महाधिवेशनको सन्दर्भमा तयार गरिने र गरिएको मस्यौदा राजनीतिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्न समितिको बैठक बोलाएको छ।
Comments are closed.