काठमाडाैं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि निर्वाचन आचारसंहिता लागू भएको छ ।
निर्वाचन आयोगले लागि आज मंगलबारदेखि आचारसंहिता लागू गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार आजदेखि माघ १२ गतेसम्म आचारसंहिता लागू भएकाे आयाेगले जनाएकाे छ ।
आयोगका अनुसार आचारसंहिताको दफा १ अनुसार सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ ।
आयाेगका अनुसार आचारसंहिता लागू भएसँगै अब कुनै सार्वजनिक स्रोत‚ साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइने छैन ।
कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नपाइने आयाेगले जनाएकाे छ ।
राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नपाइने आयाेगले जनाएकाे छ ।
ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अपांगाता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नमिल्ने आयाेगले जनाएकाे छ ।
आयाेगका अनुसार प्रचलित कानुनबमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन पाइने छैन ।
सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचन प्रभावित पार्न होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टीका टिप्पणी गर्न वा गराउन नपाइने व्यवस्था छ ।
निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने, कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्ने कार्य गर्न नहुने कानुनी प्रावधान रहेको आयाेगले जनाएकाे छ ।
मतदाता र मतदानमा खटिएका कुनै पनि कर्मचारीसँग वादविवाद गर्न वा उनीहरूलाई हतोत्साहित गर्ने कुनै पनि काम गर्न नहुने, कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै काम गर्न नहुने व्यवस्था कानुनमा रहेकाे आयाेगले स्मरण गराएकाे छ ।
निर्वाचन प्रचारप्रसारमा संलग्न हुने सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आयोगको अनुमति लिई निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने आयोगले जनाएको छ ।
मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न नहुने समेत व्यवस्था रहेको आयोगले जनाएकाे छ ।
माघ ११ गते राष्ट्रिय सभा सदस्यका १९ सिटका लागि चुनाव हुँदैछ ।
Comments are closed.