होटल स्क्वायरका संचालकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । ललितपुरको होटल स्क्वायरका संचालकविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको छ । ललितपुर महानगरपालिका वडा नम्बर–३ मा संचालित होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । भदौ १४ मा घाइते भएका उनी अहिले पनि अचेत अवस्थामा छन् ।पीडितका परिवारले दिएको जाहेरी दर्ता गरेर घटना अनुसन्धान भइरहेको ललितपुरका एसएसपी शेखर खनालले बताए । उनले भने,‘ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाएका छौँ ।’
ललितपुर जिल्ला अदालतबाट होटलकी प्रबन्ध निर्देशक रोमी अर्याल र उनकी सासु ललिता भण्डारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरू दुवैजना फरार छन् ।भदौ १४ मा दिउँसो ३ बजेर ३० मिनेटमा स्विमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएको उनकी बहिनी सुस्मिता शाक्यले बताइन् ।होटलका प्रतिनिधिहरुले प्रहरीसँग स्विमिङ पुलमा करेन्ट नफैलिएको दाबी गर्दै आएका छन् । होटल संचालकको लापरबाहीले करेन्ट फैलिएको घटनालाई ‘हर्ट अट्याएक’ बनाउन खोजिएको पीडित परिवारले बताएका छन् ।

Comments are closed.