मेराे खातामा १ करोड ८० लाख आएको छैन: रवि लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो खातामा १ करोड ८० लाख जम्मा नभएको बताउनुभएकाे छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले ग्यालेक्सी टीभी छाड्दा आफ्नो नाममा १ करोड ८० लाख रुपैयाँ आफ्नो निजी खातामा नआएको बताउनुभयाे ।

ग्यालेक्सी टेलिभिजनको जागिर छाडेर निस्किँदा १५ प्रतिशत शेयरको नाममा लामिछानेले १ करोड ८० लाख आफ्नो निजी खातामा सारेको  र अनाधिकृत रुपमा पैसा लिएको भन्दै आज समाचार बाहिरिएकाे थियाे ।

त्यसकाे खण्डन गर्न आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा सभापति लामिछानेले बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको दाबी गर्नुभयाे । ‘स्लिप देखिनु भनेकाे पैसा आउनु हाेइन, स्लिपमा कसैले नाम हाल्दिनु भनेकाे सम्बन्धित खातामा तपाइँकाे काराेबार हुनु हाेइन, यसलाई छाेड्नै भएन भन्ने प्रतिशाेध देखियाे भने असाध्यै दुर्भाग्य हुनेछ’-उहाँले भन्नुभयाे ।

पत्रकार सम्मेलनमा बैंककाे पत्र समेत पढेर सभापति लामिछानेले सुनाउनुभयाे । ‘उल्लेखिन मिति १७-०६-२०२२ मा त्यहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर….मा रु १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसीसी मार्फत चेक क्लीयरिङमा पठाउँदा अपर्याप्त ब्यालेन्सको कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौं’- बैंककाे पत्रका लेखिएकाे छ ।

आफूमाथि प्रहार गर्दै जबरजस्त सहकारी ठग बनाउन खोजिएको भन्दै सभापति लामिछानेले आफ्नाे नाम जाेडिएका कुनै पनि सहकारीमा आफ्नाे खाता नरहेकाे दाबी गर्नुभयाे । ‘नाम आएका सहकारी मेराे कुनै संलग्नता, खातापाता केही पनि छैन, मैले लिएकाे दिएकाे केही पनि छैन’-उहाँले भन्नुभयाे ।

सहकारीकाे पैसा पीडितलाई दिनुपर्छ भन्ने कुराकाे भिडियाे मिस लिड गरिएकाे भन्दै सभापति लामिछानेले यसबारे सरकार जिम्मेवार हुनुपर्छ भनेकाे बताउनुभयाे ।

Comments are closed.