क्यानडाले यो वर्ष ३५ प्रतिशत विदेशी विद्यार्थी कटौती गर्ने, ‘वर्क पर्मिट’मा पनि कडाइ गर्दै

क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा कटौती गर्ने भएको छ। सन् २०२४ मा क्यानडाले ३५ प्रतिशत विद्यार्थी भर्ना कटौती गरेर ३ लाख ६० हजारलाई मात्रै भिसा दिने भएको हो। विदेशी विद्यार्थीको बढ्दो जनसंख्याका कारण आवास र स्वास्थ्य क्षेत्रमा चरम दबाब परेपछि दुई वर्षसम्म भर्ना संख्या घटाउन लागिएको हो।
क्यानडाका अध्यागमन मन्त्री मार्क मिल्लरले सोमबार दुई वर्ष भर्ना कटौतीको घोषणा गर्दै यो नियम डिप्लोमा र अन्डरग्रयाजुएट कार्यक्रममा आउन चाहनेहरुमा लागू हुने बताएका छन्। स्टडी पर्मिट पुन: नविकरण गर्न चाहने विद्यार्थीमा यो नियम लागू हुने छैन।
यस्तै, सरकारले अबदेखि पब्लिक-प्राइभेट पार्टनरसिप मोडलमा संचालित कलेजबाट दीक्षित भएका विद्यार्थीलाई ‘वर्क पर्मिट’ नदिने भएको छ। यसप्रकारका कलेज धेरै जसो अन्टारियोमा रहेको छ। मिल्लरले नयाँ कानुन अन्तर्राष्ट्रिय विद्यार्थीहरुको विरुद्ध नभएको भन्दै यी नियमले शिक्षाको गुणस्तर कायम राख्न सहयोग हुने बताएका छन्।
कुन प्रान्त र क्षेत्रमा कतिजना विदेशी विद्यार्थी भर्ना गर्ने भन्नेबारे पहिला नै कोटा तय गरिनेछ। जनसंख्याको आधारमा यसरी संख्या तोकिनेछ। एउटा प्रान्तमा ह्वात्तै बढेको विदेशी विद्यार्थीको संख्या यो नियमले कम हुने अपेक्षा क्यानडा सरकारको छ।
केही प्रान्तमा ५० प्रतिशत विदेशी विद्यार्थीलाई मात्र भर्ना दिइने मिल्लरले बताएका छन्। पर्मिट कसरी वितरण गर्नेभन्नेबारे प्रान्त र क्षेत्रले निर्णय गर्नेछ।
साना निजी कलेजको मनोमानीविरुद्ध संघीय सरकारले यो निर्णय गरेको मिल्लरले बताएका छन्। डिग्री दिने नाममा केही शैक्षिक संस्थाले नक्कली बिजनेस डिग्री दिने गरेको पाइएको उनले बताएका छन्। क्यानडामा बस्न चाहने विदेशी विद्यार्थीले त्यस्ता नक्कली डिग्री लिने गरेको पाइएको छ। यसरी ‘फेक डिग्री’ दिने सयौं कलेज हुन सक्ने र पछिल्ला वर्षहरुमा त्यस्ता कलेजको संख्या झन् बढेको उनले बताएका छन्।
दुई वर्षे विद्यार्थी कटौती घोषणा गरेको सरकारले क्यानडामा पढ्न आउन चाहने विद्यार्थीले प्रान्त र क्षेत्रबाट ‘एट्टेस्टेसन लेटर’ लिनुपर्ने व्यवस्था पनि गरेको छ।
मिल्लरले पोस्ट-ग्रयाजुएसन वर्क पर्मिट कार्यक्रममा परिवर्तन गरिएकोबारे पनि जानकारी दिएका छन्। सेप्टेम्बरबाट ‘करिकुलम लाइसेन्सिङ एरेन्जमेन्ट’ अन्तर्गत पढाई सुरु गर्ने विदेशी विद्यार्थीहरुले पोस्ट-ग्रयाजुएसन वर्क पर्मिट पाउने छैनन्।
स्नात्तकोत्तर र सर्ट ग्रयाजुएट लेभल प्रोग्राममा अध्ययनरत विद्यार्थीले ३ वर्षको वर्क पर्मिटका लागि आवेदन दिन पाउनेछन्। स्नात्तकोतर र डक्टरल प्रोग्राममा क्यानडामा अध्ययन गर्न आउने व्यक्तिको श्रीमान श्रीमतीले ओपन वर्क पर्मिटका लागि भने आवेदन दिन पाउनेछन्।

Comments are closed.