काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानलाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनायो ।नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ र्चाैका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । नेपालका कुनै पनि ब्याटरले पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्न सकेनन् ।
पाकिस्तानका तीव्र गतिका बलर अहमद हसनले ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमा आउट गर्दै सुरुवातमा दबाबमा राखेका थिए । अर्जुन बोल्ड र आकाश क्याच आउट हुन पुगेका थिए ।
नेपाल ६.५ ओभरमा ४३–२ को अवस्थामा थियो । कप्तान देव खनाल र विपिनले तेस्रो विकेटका लागि ६२ बलमा ३७ रनको साझेदारी गर्दै नेपाललाई एउटा राम्रो योगफलको लोभ देखाएका थिए ।तर देव स्पिनर अली असफन्डलाई १८ औं ओभरको पहिलो बलमा लङअनमा सट खेल्ने धुनमा मिडअनमा उबेद साहबाट क्याच आउट भएपछि नेपाल खेलमा फसेको थियो । देवपछि नेपालले लगातार डट र विकेट गुमायो । सिनियर टोलीबाट खेलेका गुलशन झाले ४७ बलमा बिना बाउन्ड्री १८ रन बनाएर आउट भए ।
उनी तीव्र गतिका बलर खुबैब खलिलको ३८ औं ओभरको दोस्रो बलमा टप एज लागेर मिडअफमा अरफत मिन्हासबाट क्याच आउट हुन पुगेका थिए । उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ र दीपक डुम्रे २६ रनमा आउट भए । डुम्रेले खेलमा १ छक्का हानेका थिए ।
तल्लोक्रममा आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे । सुवास भण्डारीले २४ बलमा २० रन बनाए । नेपालले २६ रन अतिरिक्त पाएको थियो ।
पाकिस्तानको सिनियर टोलीबाट खेलेका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर अली असफन्डले १० ओभरमा मात्रै १५ रन खर्चेर १ विकेट लिए ।अहमद हसनले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । उबेद साहले २, खुबैब खलिल र मोहम्मद जिशानले १-१ विकेट लिए ।
Comments are closed.