थुनुवा भगाउन करोडबाट ‘डिल’, छ लाख बुझेर भगाए

काठमाडौं । लागुऔषध मुद्दाका एक थुनुवालाई भगाउन प्रहरीले एक करोडबाट ‘डिल’ गरी ६ लाख २५ हजार रुपैयाँ रकम बुझेको पाइएको छ ।१६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले एक करोड मागेका र कुराकानी गर्दा १० लाखमा डिल भएको भए पनि ६ लाख २५ हजार रुपैयाँ लिएर थुनुवालाई भगाएको खुलेको हो ।
घटना २०६४ साल जेठको हो । नयाँ बानेश्वरबाट पक्राउ परी लागुऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानका क्रममा काठमाडौं प्रहरीको हिरासत कक्षमा रहेका भारतका असरफ आलमलाई सोही साल जेठ ९ गते राति प्रहरी जवान वीरबल राय यादवले भगाएका थिए ।
उक्त घटनामा संलग्न रौतहटको पथरावुधराम घर भई काठमाडौं प्रहरीको हिरासत कक्षमा कार्यरत तत्कालीन प्रहरी जवान वीरबल राय यादव त्यसपछि फरार थिए ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले गएको बिहीबार जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नेपाल–भारत सिमानाको काँकडभिट्टाबाट पक्राउ गरेको थियो ।
काठमाडौं ल्याएर उनीमाथि अनुसन्धान थालिएको सो कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
ती प्रहरीले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको किर्ते दस्तखत समेत गरी ‘इन्स्पेक्टर सापले बोलाउनुभएको छ’ भनी थुनुवालाई हिरासत कक्षबाट हतकडीसहित बाहिर निकालेर भगाएको र त्यसपछि आफू फरार भएको अनुसन्धानका क्रममा खुलेको रेग्मीले बताए । उनले प्रतिवादीलाई हिरासतबाट निकाली कालीमाटी–कलंकी–बुटवल हुँदै भारतको रक्सौल पुर्याएका थिए ।
प्राप्त रकमले उनले भारतको कोलकातामा दुई ट्याक्सी खरिद गरी चलाएका थिए । अहिले उनीसँग नौ ट्याक्सी रहेको खुलेको छ । उनले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्स समेत बनाएको खुलेको जनाइएको छ । पछिल्लो समय उनी कोलकातामै श्रीमतीसहित बसोबास गर्दै आएका थिए ।
उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार कारबाहीका निम्ति शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । परिसरले आवश्यक अनुसन्धान थालेको जनाइएको छ । रासस

Comments are closed.