पश्चिम नवलपरासीका १०५ उजुरी अख्तियारमा

अख्तियार दुरुपयोग आयोगमा पश्चिम नवलपरासीका १०५ वटा दर्ता भएका छन् । उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहको रहेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा चालु आवमा जिल्लाका सातवटै स्थानीय तहविरुद्ध उजुरी परेको र त्यसमध्ये ३७ वटा मात्र फर्छ्योट भएको आयोगले जनाएको छ ।
सबैभन्दा बढी उजुरी बर्दघाट नगरपालिकाविरुद्ध २९ वटा र कम उजुरी पर्नेमा सुस्ता गाउँपालिका रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका शाखा अधिकृत नवराज भण्डारीले जनाए ।
चालु आवमा बर्दघाट नगरपालिकाको ९ वटा सरावल गाउँपालिकाको ६, पाल्हिनन्दन गाउँपालिकाको १२ मध्ये ५ वटा, सुनवल नगरपालिकाको १८ उजुरीमध्ये ९ वटा रामग्राम नगरपालिकाको १० उजुरीमध्ये ५ वटाको फर्छ्योट भएको छ । यसैगरी प्रतापपुर गाउँपालिकाको ७ मध्ये २ वटा र सुस्ता गाउँपालिकाको २ उजुरीमध्ये एउटा उजुरीको फर्छ्योट भएको छ ।
भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था नवलपरासीले प्रतापपुरमा आयोजना गरेको सार्वजनिक बहस कार्यक्रममा तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रममा सार्वजनिक काम गर्दा जनतालाई सुसूचित गर्नुपर्ने र मौजुदा कानुनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको थियो । स्थानीय तहका जनप्रतिनिधिले भने राम्रो काममा पनि उजुरी पर्ने र काम रोकिने गुनासो गरेका थिए ।

Comments are closed.